मेलबर्न । सफल प्रयोगात्मक नेपाली चलचित्र चपली हाइटको सिक्वेल चपली हाइट २ हेर्ने अष्ट्रेलियाको मेलबर्नवासी दर्शकहरुको धोको अब पूरा हुने भएको छ ।

नेपालमा अहिले थुप्रै हलमा प्रदर्शन भैरहेको यो चलचित्र चपली हाइट २ मेलबर्नमा यही आाउँदो आइतवार अर्थात अगष्ट २८ मा रेड कार्पेट प्रिमियर हुन लागेको हो । नेप्ले इभेन्टस्को व्यवस्थापनमा हुन लागेको चपली हाइट २ को प्रिमियर शो स्थानीय चाइन टाउन सिनेमा हलमा साँझ ७ः३० बजे शुरु हुनेछ ।

पशुपतिप्रसाद जस्तो निकै हिट चलचित्र पछि निर्देशक दीपेन्द्र के खनालको यो अर्को नयाँ चलचित्र हो । नाम यसअघिको हिट चलचित्र चपली हाइटबाटै राखिएको भए पनि यो विल्कुल नयाँ कथाको चलचित्र हो । चपली हाइट २ मा पनि नयाँ कलाकारहरुलाई लिएका छन् निर्देशक खनालले ।

सस्पेन्स,थ्रिलरमा आधारित यो चलचित्रमा आयुष्मान देशराज श्रेष्ठ,परिमिता राना र अष्ट्रेलियामा बस्दै आएकी मरिष्का पोखरेल लिड रोलमा छन् । मरिष्काको यो दोस्रो चलचित्र हो । उनले यस अघि के म तिम्रो होइन र ? खेलिसकेकी छिन् ।

Comments

comments