काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सरकारले घोषणा गरेको सहिदको सूचीमा १६ जनाको नाम छुटेको भन्दै औपचारिक रूपमै असहमति राख्ने निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री चुनिएको पर्सिपल्ट भएको वार्तामा सरकार र मोर्चा दुवै पक्षबाट मृतकको नामावली तयार गर्ने निर्णय भएअनुसार मोर्चाले गत वर्षको मधेस–थरुहट लगायतका आन्दोलनमा मारिएका सर्वसाधारण, कार्यकर्ता र सुरक्षाकर्मी गरी ६८ जनाको नाम गृहमन्त्री विमलेन्द्र निधिलाई बुझाएको थियो ।

तीमध्ये ५२ जनालाई मात्रै सरकारले सहिद घोषणा गरेको थियो । मोर्चाले भने मारिएकामध्ये कतिपयको नामावली र विवरण नमिलेको जनाएको छ । यस विषयमा बुधबार अपराहन बिजुलीबजारमा मोर्चाको बैठक बस्दैछ ।

तमलोपा मुख्यालय बिजुलीबजारमा सोमबार बसेको मोर्चा सचिवालय बैठकले आन्दोलनका क्रममा लागेका मुद्दा फिर्ताबारे सरकारी पक्ष इमानदार नभएको समेत निष्कर्ष निकालेको छ ।

संघीय समाजवादी फोरम अध्यक्ष उपेन्द्र यादवले सहिद सूची, मुद्दा फिर्तालगायत विषयमा मोर्चाको गम्भीर असहमति रहेकाले सत्तारूढ दलसँग छलफल गर्न लागेको बताए ।

मोर्चा सचिवालय बैठकले स्थानीय तह पुनःसंरचना आयोगका सबै काम तत्काल रोक्नसमेत माग गरेको छ । तराई–मधेसको सीमांकन हेरफेर आफ्नो आन्दोलनको मुख्य माग भएकाले त्यसको सम्बोधन नभई हुने स्थानीय निकाय पुनस्संरचना अस्वीकार गर्ने र त्यसका आधारमा हुने स्थानीय चुनावसमेत मधेसमा हुन नदिने मोर्चाको निर्णय छ ।

Please follow and like us:

Comments