काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले मन्त्रिपरिषदमा आफ्नातर्फबाट नामावली पठाउने अन्तिम तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवानिकट एक नेताले आफ्ना केही मन्त्रीको नाम सोमबारै प्रधानमन्त्री पुष्पकमल दाहाललाई पठाउने तयारी भइरहेको खुलाए ।

वरिष्ठ नेता रामचन्द्र पौडेलसँग परामर्श गर्न बाँकी रहेकाले सोमबार मन्त्रिपरिषद्मा चार वा पाँच सदस्यमात्रै जान सक्ने ती नेताको भनाई छ । दाहाल मन्त्रिपरिषद्मा कांग्रेसले १२ वा १३ मन्त्रालय पाउने दुई सत्तारुढ दलको समझदारी छ ।

कांग्रेसले सोमबार पठाउने भनिएका नाममा अर्जुननरसिंह केसी, प्रकाशशरण महत र केशवकुमार बुढाथोकीको चर्चा छ । अघिल्लो पटक चर्चा गरिएका शेखर कोइराला भने सूचीमा पर्ने छैनन् । कोइरालालाई परराष्ट्र मन्त्रालय दिन देउवा सहमत भए उनको नामसहित अरु नाम पौडेल पक्षले एकै पटक पठाउने बुझिएको छ ।

अरु मन्त्रीबारे मोटामोटी टुंगो लागे पनि महिला, मधेसीलगायत समानुपातिक प्रतिनिधित्व मिलाउनुपर्ने शर्तले गर्दा पौडेल पक्षसँग समन्वय गरेपछि मात्रै सार्वजनिक गर्ने देउवाको तयारी छ । ती नेताले पौडेल पक्षबाट ६ मन्त्रालयको दाबी आएकाले छलफल बाकी रहेको बताइएको छ ।

पौडेल निकट मानिने अर्का नेता महेश आचार्यले भने मन्त्रिपरिषदमा को–को जाने भन्नेबारे पार्टीभित्र सरसल्लाह भइनसकेको बताए । अर्का एक नेताले मन्त्री हुन पार्टीभित्र डेढ सय नेता आकांक्षी रहेको जानकारी दिए ।

Please follow and like us:

Comments