काठमाडौं । ब्राजिलले आफ्नै गृह मैदानमा भएको ओलम्पिक फुटबलको उपाधि जितेको छ ।

कप्तान नेइमारले ब्राजिललाई ओलम्पिकमा ऐतिहासिक सफलता दिलाएका हुन् । उनले अन्तिम पेनाल्टीलाई गोलमा परिणत गरेपछि ब्राजिलले रियो ओलम्पिकमा जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै स्वर्ण जितेको हो ।

ओलम्पिकमा अहिलेसम्म स्वर्ण जित्न नसकेको ब्राजिलको धुमिलो इतिहासलाई उनले ४५ हजार घरेलु दर्शकमाझ अन्तिम पेनाल्टीमा गोल गर्दै पखाले ।

आइतबार बिहान नेपाली समयअनुसार ५ बजे नेइमारले अन्तिम पेनाल्टीबाट गोल गर्दै ब्राजिली समर्थकलाई ओलम्पिकको मिठो उपहार दिए । निर्धारित समयको खेल १–१ गोलको बराबरी र अतिरिक्त ३० मिनेटमा पनि कुनै गोल हुन नसकेपछि खेल पेनाल्टीमा पुगेको हो ।

पहिलो ४ पेनाल्टीमा दुवै तर्फका खेलाडीले गोल गरेका थिए । तर, पाँचौ पेनाल्टी हान्न आएका जर्मनीका निल्स पिटर्सनको बल ब्राजिलका गोलरक्षक वेभर्टनले उत्कृष्ट बचाउ गरे । यसपछि निर्णायक अन्तिम पेनाल्टी प्रहार गर्न आएका नेइमारले गोल गर्दै ब्राजिललाई ऐतिहासिक सफलता दिलाए ।

नेइमारले खेल सुरू भएको २६ मिनेटमा २८ मिटर टाढाबाट पाएको फ्रिकिकमा ट्रेडमार्क गोल गरे । उनको फ्रिकिक रोक्न देवाल बनेर बसेका ४ जर्मन डिफेन्सलाई चकित पार्दै उनले पहिलो वारमै च्यापेर गोल गरेका थिए । उनको यही गोलको मद्धतले ब्राजिलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । तर, त्यो अग्रतालाई ब्राजिलले दोस्रो हाफमा कायम राख्न सकेन ।

दोस्रो हाफको खेल सुरु भएको १४ मिनेटमै जर्मनीका कप्तान म्याक्स मेयरले गोल गरे । टोल्यानको क्रसमा ब्राजिलको डिबक्समा अनमार्क रहेका म्याक्सले गोल गर्दै ब्राजिललाई स्तब्ध तुल्याएका थिए । यसपछि दुवै टोली गोल गर्नबाट चुकेका थिए । अतिरिक्त ३० मिनेटको समयमा ब्राजिलले खेललाई आफ्नो पक्षमा पारे पनि गोल गर्नबाट चुक्यो ।

नेइमारको प्रेरणामा ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा उत्रिँएको घरेलु टोलीले गत विश्वकपमा जर्मनीबाट पाएको ७–१ गोलको पराजयको बदला पनि लियो । दुई वर्षअघि यही मैदानमा जर्मनीसँग विश्वकपको सेमिफाइनलमा ब्राजिलले लज्जास्पद हार व्यहोरेको थियो ।

Comments

comments