काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय समकक्षी नरेन्द्र मोदीलाई पठाएको सन्देश भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले शनिबार हस्तान्तरण गरेका छन् ।

प्रधानमन्त्री दाहालको विशेष दूतका रुपमा निधिले मोदीलाई एक चिठी नै दिएका हुन् । उक्त चिठीमा के कुरा उल्लेख छन् ? भन्ने अहिले कौतुहलताको विषय बनेको छ ।

स्रोतका अनुसार दाहालको सन्देशमा विशेषतः चार महत्वपूर्ण बुँदा छन् ।

पहिलो दाहालले आफ्नो सरकारको प्राथमिकता संविधानमा आवश्यक संशोधन गरी त्यसलाई सर्वस्वीकार्य बनाएर सेसाँ छिटो चुनावमा जाने उल्लेख गरेका छन् । त्यसका लागि मधेसी मोर्चा र जनजातिका असन्तुष्टि सम्बोधन गर्ने गृहकार्य सुरु भइसकेको जनाएका छन् ।

दोस्रो, नयाँ सरकार भारतसँगको सम्बन्धलाई सुमधुर बनाउन तयार दिइएको छ । विगतमा दुई देशबीचमा देखिएका केही असमझदारी पूर्ण रुपमा हटेको प्रचण्डले उल्लेख गरेका छन् ।

तेस्रो, उच्चस्तरमा दुईपक्षीय भ्रमण गराउने दाहालको सन्देश छ । यस्ता भ्रमणले दुई देशबीचको सम्बन्धले थप यचाई ग्रहण गर्ने उल्लेख गरिएको छ ।

चौथो, नयाँ सरकार विकासका परियोजनालाई अगाडि बढाउन चाहन्छ र त्यसका लागि भारतको सहयोग आवश्यक पर्ने उल्लेख गरिएको छ । प्रधानमन्त्री दाहालले यसअघि नै भारतीय पक्षलाई आफूले अगाडि बढाउन चाहेका परियोजनाको सूची नै बुझाइसकेको स्रोतको भनाइ छ ।

Comments

comments