मेलबर्न । अष्ट्रेलियाको मेलबर्न बसोबासका लागि पुनः विश्वकै सबैभन्दा उत्कृष्ट शहर घोषित भएको छ । अष्ट्रेलियाको पर्यटकीय शहर मेलबर्न लगातार छैटौं वर्ष बसोबासका लागि विश्वकै उत्कृष्ट शहर घोषित भएको हो ।

इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले सार्वजनिक गरेको विश्वका उत्कृष्ट शहरहरुमा मेलबर्न पहिलो नम्बरमा रहन सफल भएको हो ।

इकोनोमिष्ट इन्टेलिजेन्स यूनिटले जीवनशैलीका विभिन्न पक्षहरुको मूल्यांकन गरि विश्वका १४० शहरहरुको सूची सार्वजनिक गर्दै आएको छ । तर यसपटक १४० मध्ये २९ वटा शहरहरु बस्नयोग्यको सूचीबाट हटाइएको छ । यो पछिल्लो १२ महिनासम्म गरेको सर्वेक्षणको नतिजाका आधारमा तयार पारिएको सूची हो ।

नागरिकहरुको स्थिरता,स्वास्थ्य सेवा,संस्कृति,वातावरण,शिक्षा र भौतिक पूर्वाधार लगायतको मूल्यांकन गरि यो सूची तयार पारिएको यूनिटले जनाएको छ । मेलबर्नले १०० पूर्णाङ्कमा ९७.५ अंक प्राप्त गरेको छ । दोस्रोमा अष्ट्रियाको भेन शहर रहेको छ भने क्यानडाको भनकोभर र टोरन्टो तेश्रो र चौथो स्थानमा रहेको छ ।

अष्ट्रेलियाकै अन्य शहर पर्थ र एडिलेड पनि सूचीको उत्कृष्ट ७ भित्र पर्न सफल भएको छ ।

यस्तो सूची सार्वजनिक भएसँगै मेलबर्नका मेयर रोबर्ड डोयलले यो मेलबर्नवासीका लागि गौरवको विषय भएको बताए ।

Comments

comments