काठमाडौं । उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी विहीवार भारत भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतका रुपमा उहाँ भारत भ्रमणमा जान लाग्नुभएको हो ।

मन्त्रीपरिषदको वैठकले उपप्रधानमन्त्रीद्धय निधी र कृष्णबहादुर महरालाई विशेष दूतका रुपमा भारत र चीन भ्रमणमा पठाउने निर्णय गरेको थियो । उपप्रधानमन्त्री निधीले शुक्रवार र शनिवार भारतीय राजनीतिक नेतृत्वसँग औपचारिक भेटवार्ता गर्नुहुने बताइएको छ ।

उता प्रधानमन्त्री पुष्पकमल दाहालको विशेष दूतको रुपमा चीन भ्रमणमा रहनुभएका उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले चिनियाँ प्रधानमन्त्री ली खछ्याङलाई भेटवार्ता गर्नुभएको छ ।

बुधवार भएको भेटमा विशेष दूत महराले प्रधानमन्त्री खछ्याङ चिनिया राष्ट्रपति सी जिनपिङलाई नेपाल भ्रमणको निम्तो दिनु भएको थियो । विशेषदूत महराले निम्तो दिएपछि चिनियाँ प्रधानमन्त्री खछ्याङले धन्यवाद दिदै यसबारे आवश्यक संयोजनका लागि दुई देशका परराष्ट्र मन्त्रालय नियमित सम्पर्कमा रहने बताउनु भएको थियो ।

भेटमा उपप्रधानमन्त्री महराले नेपालको आर्थिक सामाजिक विकासमा चीनले गरेको सहयोगको प्रशंसा गर्नुभएको थियो । जवाफमा चिनियाँ प्रधानमन्त्रीले नेपाल र चीनबीच व्यावहारिक सम्वन्ध रहेको भन्दै नेपालसँग सम्भव भएसम्म सहकार्य गर्न तयार रहेको जानकारी दिएको बेइजिङस्थित नेपाली दूतावासले जनाएको छ ।

Please follow and like us:

Comments