मेलबर्न । द हिमालयन क्लबको आयोजनामा अष्ट्रेलियाको मेलबर्नमा आइतवार हुने हिमालयन साँझको सम्पूर्ण तयारी पूरा भएको छ । नेपाली समुदायका खेलाडीहरुको सम्मानका लागि पहिलोपटक हुन लागेको यो कार्यक्रमलाई लिएर सर्वत्र चासो बढ्न थालेको छ । साथमा विभिन्न कलाकारहरुको सांगीतिक र सांस्कृतिक प्रस्तुति समेत रहनेछ ।

यसैबीच हिमालयन साँझको पूर्वसन्ध्यामा कार्यक्रमको तयारी र उदेश्य लगायतका विषयमा हिमालयन कङ्गारुले आयोजक संस्था द हिमालयन क्लबका सन्तोष बास्ताकोटीसँग छोटो कुराकानी गरेका छौं ।

हिमालयन साँझको तयारी कस्तो हुँदैछ ?

कार्यक्रमको तयारी लगभग पूरा भैसकेको छ । यतिखेर हामी केही छुटफुट भएका छन् कि भन्ने पुनरावलोकन गरिरहेका छौं ।

कार्यक्रमका विशेष आकर्षणहरु के के हुनेछन् ?

हुन त यो कार्यक्रमको मूख्य उदेश्य भनेकै खेलाडीहरुको सम्मान गर्नु हो । त्यसैले यहाँको समुदायको खेल क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका खेलाडीहरुलाई सम्मानित गरिनुका साथै पुरस्कार वितरण गरिनेछ । साथमा विभिन्न संघ संस्था र व्यक्तित्वहरुलाई पनि पुरस्कृत गर्ने हाम्रो योजना छ । यस्तै कार्यक्रममा सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन् ।

कस्ता संस्थाहरुलाई पुरस्कृत गरिदैछ ?

द हिमालयन क्लब यहाँको खेल क्षेत्रमा क्रियाशील संस्था हो । त्यसैले यसबीचमा हाम्रो उदेश्य प्राप्ति गर्न र यहाँको खेल क्षेत्रमा क्रियाशील रहन क्लबलाई प्रायोजन र सहयोग गर्दै आएका कम्पनी र संघ संथाहरुलाई हिमालयन साँझको अवसरमा पुरस्कृत गर्न लागेका हौं । यसलाई धन्यवाद ज्ञापन भन्दा पनि हुन्छ ।

आगामी दिनमा पनि हिमालयन साँझ गर्दै जानुहुन्छ कि ?

हो,प्रत्येक दुई दुई वर्षमा आयोजना गर्दै जाने हाम्रो योजना छ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

अन्त्यमा सबै कलाकार,खेलाडी,स्वयम्सेवक र क्लबका प्रायोजकज्यूहरुलाई धन्यवाद दिन चाहन्छु । किनभने उहाँहरुको सहयोग र साथले नै हामी आज यहाँछौं । अनि भविष्यमा पनि यस्तै साथ,समर्थन र सहयोगको आशा राख्दछु ।

Comments