काठमाडौं । प्रहरीले पछिल्लो तीन वर्षको अवधिमा नक्कली भारतीय रुपियाँ (भारु)सहित विदेशी मुद्रा तस्करीमा संलग्न १ सय ५४ कारोबारी तथा भरिया पक्राउ गरेको छ ।

आर्थिक वर्ष ०७०र७१ यता केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), विशेष ब्युरो, विमानस्थल प्रहरी, महानगरीय अपराध महाशाखा तथा स्थानीय प्रहरी संयन्त्रले भारतीय जाली नोटसहित अमेरिकी तथा अस्ट्रेलियाली डलर, पाउन्ड स्टर्लिङ, युरो, चिनियाँ युआनलगायत विदेशी मुद्रा तस्करीमा संलग्नलाई पक्राउ गरेको हो ।

अभियुक्तको साथबाट करिब २० करोड रुपैयाँका मुद्रा बरामद गरिएको छ । आव ०६५र६६ देखि ०६९–७० को अवधिमा मात्रै ४० करोड रुपैयाँबराबरको मुद्रा बरामद भएको प्रहरी अनुसन्धानबाट देखिन्छ । प्रहरी प्रवक्ता डीआईजी माधवप्रसाद जोशी विदेशी मुद्रा तस्करीविरुद्ध चालिएका कदम सफल भएकै कारण बरामद अनुपात बढ्दो क्रममा रहेको बताउँछन् ।

“विदेशी मुद्रा तस्करीविरुद्ध प्रहरी संयन्त्र देशभर सक्रिय छ,” प्रवक्ता जोशी भन्छन्, “फलस्वरूप तस्करीमा संलग्न योजनाकार, कारोबारी तथा भरिया पक्राउ परेका हुन् ।” उनका अनुसार ०७०, ०७१ र ०७२ मा तस्करीमा संलग्न क्रमशः ३३, ६९ र ८० जना पक्राउ परे ।

मुद्रा तस्करीविरुद्ध आन्तरिक संयन्त्रबीच सहकार्य र समन्वय हुनुपर्नेमा उनको जोड रहेको छ ।

Comments