काठमाडौं । स्विफ्ट टटल नामक पुच्छ्रेताराका कारण गत साउन २ गतेदेखि सक्रिय भएको ययाति उल्कावर्षा यस वर्ष साउन २८ गते शुक्रबारका दिन अत्यधिक मात्रामा हुने अनुमान नेपाल एस्ट्रोनोमिकल सोसाइटीले गरेको छ । उल्का वर्षा भदौ ८ गते सम्म सक्रिय रहने सोसाइटीले जनाएको छ ।

शुक्रबार उल्कावर्षा उत्तर तथा उत्तरपूर्वी आकाशमा देखिनेछ । अत्यधिक उल्का वर्षाको समय साउन २८ गते भएकाले मौसम सफा रहे बिहीबार र शनिबार राति उल्का वर्षा हेर्न चाहनेहरुका लागि सुनौलो मौका हुन सक्नेछ । यसवर्ष प्रतिघन्टा १०० वटा सम्म उल्का वर्षा देख्न सकिने सोसाइटीले जनाएको छ । ती उल्का वर्षाहरुको गति प्रति सेकेण्ड ६० किलोमिटर सम्म हुने भएकोले करिब ७० किलोमिटरमाथि पृथ्वीको वायुमण्डलमा घर्षण पैदा भई यस्तो दृश्य देखिने गर्दछ ।

स्विफ्ट टटलले सुर्यको परिक्रमा गर्न १ सय ३३ वर्ष लगाउँछ । यसले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक आइपुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुच्छ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, तब ती धुलोका कणहरु र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्दछन् । यसैलाई हामी उल्का वर्षा भन्दछौं । उल्का वर्षालाई नेपाली जनजिब्रोमा ‘तारा खसेको’ पनि भन्ने गरिन्छ ।

सन् १९९२ मा पृथ्वीको नजिक आएको स्विफ्ट टटल सन् २१२६ मा पृथ्वी नजिक आउँदा नाङ्गो आखाँले नै देख्न सकिने समेत एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

Comments

comments