मेलबर्न । अष्ट्रेलियामा नेपाली नर्सहरुका लागि अध्ययन गरेर डिग्री लिने वित्तिकै अवसरका प्रशस्तै सम्भावनका ढोकाहरु खुल्छन् । त्यसैले यहाँको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सहरुले अहिले बलियो उपस्थिती जनाउन सफल भएका छन् ।

नेपाली नर्सहरुले सेवाभावको उत्कृष्ट नेपाली नमुना प्रस्तुत गर्दै राम्रो पहिचान समेत स्थापित गर्नसफल भएका छन् । त्यसैले अष्ट्रेलियाको सरकारीमात्र होइन, निजी स्वास्थ्य सेवा प्रदायक संस्थाहरुमा पनि नेपाली नर्सहरुको माग बढ्दो छ ।

अष्ट्रेलियाको दुर्गम र आदिवासी क्षेत्रका विरामीलाई समेत नेपाली नर्सले औषधि खुवाउँछन् । नर्सिङ क्षेत्रमा प्राप्त हुने अवसर र विश्वासका कारण अहिले अष्ट्रेलियाका प्रत्येकजसो नेपाली परिवारको कुनै एक सदस्य यो पेशामा संलग्न भएको पाइन्छ ।
अष्ट्रेलियाका नेपालीहरुले सबैभन्दा बढी रोजगारी गरिरहेको पेशा नर्सिङ नै हो । यहाँका नर्सिङ होम देखि अस्पताल र रिह्याब सेन्टरहरुमा नेपाली नर्सहरु ठूलो संख्यामा कार्यरत छन् ।

नेपालमा विभिन्न शिक्षण संस्थामा अध्ययन गरेर ‘स्किल माइग्रेसन’ अन्र्तगत अष्ट्रेलिया आएका र अष्ट्रेलियामै अध्ययन सकेका नर्सहरु अहिले अष्ट्रेलियाको नर्सिङ पेसामा सक्रिय छन् ।

कमाइका हिसावले पनि अष्ट्रेलियामा नर्सिङ पेशा निकै आकर्षक मानिन्छ । अष्ट्रेलियाको सरकारी अस्पतालमा पहिलो तहमा काम गर्ने नर्सले वार्षिक न्यूनतम ६० हजार अष्ट्रेलियन डलर कमाउँछन । त्यस्तै, आठौं तहमा काम गर्ने नर्सले वार्षिक १ लाख देखि १ लाख २० हजार अष्ट्रेलियन डलरसम्म कमाउँछन् ।

पुरुष नर्सको माग

हुन त नर्स भन्ने वित्तिकै महिलाहरुको पेशा भन्ने बुझिन्छ । तर अष्ट्रेलियामा पुरुष नर्सहरुको माग पनि उत्तिकै बढी छ । त्यसैले केही नेपाली पुरुष नर्सहरु समेत यहाँ कार्यरत छन् । सेन्ट जर्ज अस्पतालमै एकजना नेपाली पुरुष रजिस्टर नर्सको रुपमा कार्यरत छन् । महिलाको बहुमत र प्रभाव धेरै भए पनि विस्तारै यो पेशामा पुरुष नर्सहरु समेत उदाउँदै छन् ।

नर्सिङ पेशामा आउँदै गरेका नयाँ पुस्ताको भविष्य अझै उज्वल रहेको अनुभवी नर्सहरु बताउँछन् । अष्ट्रेलियामा नर्सिङ अध्ययन गर्ने नयाँ विद्यार्थीहरुको पहिलो पंक्तिमा नेपालीहरु नै पर्छन् । अन्तर्राष्ट्रिय विद्यार्थीको रुपमा अष्ट्रेलिया आउने नेपाली विद्यार्थीहरुमा नर्सिङ विषय अध्ययन गर्नेको संख्या ठूलो छ । अष्ट्रेलियामा नर्सिङ पेशाको सुरक्षाको लागि अहिले न्यु साउथ वेल्स र अन्य केही राज्यहरुले एकजना नर्सले अस्पताल र विरामीको अवस्था हेरेर ४ देखि ५ जना मात्र विरामी हेर्नपर्ने ब्यवस्था गरेको छ । यसले गर्दा नर्सिङ पेशाप्रतिको आकर्षण अष्ट्रेलियामा अझ बढेको छ ।

नेपाली नर्सका लागि आकर्षण गन्तब्य

नर्सिङ गाह्रो पेशा भएकाले बेलायत, अष्ट्रेलिया, क्यानडाजस्ता समृद्ध देशका नागरिकहरु यो पेशामा उति रुचाउँदैनन् । जसका कारण अहिले पनि यी देशहरुमा नर्सिङलाई ‘सटेज प्रोफेसन’को लिष्टमा राखिने गरिएको छ ।

त्यसैले अष्ट्रेलियामा अन्य पेशाहरुको तुलनामा नर्सिङमा माग बढ्दो छ । यसकारण नर्सहरु स्किल सटेज लिष्टमा नै राखिएको छ । नेपालको बढ्दो जनशक्ति, कम अवसर, न्यून पारिश्रमिकजस्ता कारणले पछिल्लो समयमा युके, अस्ट्रेलिया, क्यानडा, अमेरिकाजस्ता पहिलो विश्वका देशहरु नेपाली नर्सका लागि आकर्षण गन्तब्य बन्ने गरेका छन् ।

अष्ट्रेलियामा नेपाली नर्सहरुले इमान्दारिता, कामप्रतिको लगाव, घुलमिल हुने स्वभावका कारण छवि पनि राम्रो बनाएका छन् । एकाउन्टिङ, आइटी इन्जिनीयर जस्तै प्रतिष्ठित र राम्रो आम्दानी गर्ने पेशा नर्सिङ हो । नेपाली नर्सहरुको वफादारिता र मिहिनेत गर्ने बानीले नेपाल र नेपालीको चिनारी दिइरहेको सरोकारवालाहरु बताउँछन् ।

मापदण्ड र योग्यता

त्यसो त बेला–बेलामा परिवर्तन भइरहने अष्ट्रेलियाको आप्रवासी नीतिले विद्यार्थीहरुजस्तै नर्सहरुलाई पनि कठिनाइ उत्पन्न गरिदिएको छ । अष्ट्रेलियाले भाषालाई पनि नर्सिङ योग्यताको मापदण्ड बनाएको छ । अहिले नर्सका लागि भाषामा पनि उच्च स्कोर ल्याउनुपर्ने प्रावधान अगाडि सारेर अलि कठिन बनाइदिएको छ ।

आइएलटिएसमा प्रत्येक मोडुलमा ७ भन्दा कम ल्याउने आवेदक नर्सले अष्ट्रेलियामा नर्सिङ गर्ने प्रस्थानबिन्दु मानिने ‘नर्सिङ एण्ड मिडवाइफरी एसोसियसन’ बाट रजिस्ट्रेसन नम्बर पाउने प्रक्रियामा सामेल हुन समेत पाउँदैंनन् ।

Comments