मेलबर्न । भिक्टोरिया राज्यमा बसोबास गर्ने नेपालीहरुको साझा सपना हो, साझा कम्युनिटी सेन्टर । त्यसैले यसको निर्माणका लागि अहिले कोष संकलन गर्ने कार्य स्वस्फूर्त रुपमा अघि बढिरहेको छ ।

यसैबीच कम्युनिटी सेन्टर निर्माणका लागि थप ७५ हजार डलर संकलन भएको छ । मेलबर्नको पूर्वी सबअर्बमा बसोबास गर्ने करिब ५० जना नेपालीले संकलन गरेको उक्त सहयोग रकम कम्युनिटी सेन्टरका लागि हस्तान्तरण गरिएको छ । मेलबर्नको ईष्टर्न सबर्बको नेप्लीज कम्युनिटी सेन्टरका तर्फबाट ७५ हजार डलरको चेक आइतबार एक कार्यक्रमकाबीच हस्तान्तरण गरिएको छ ।

सय जना सदस्यता थप हुनेगरी त्यस वापतको रकम प्रदान गरिएको हो । अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष रञ्जन वैद्यलाई नेप्लीज कम्युनिटी सेन्टरका सुनील राजभण्डारीले ७५ हजार डलरको चेक हस्तान्तरण गर्नुभयो । उक्त अवसरमा अष्ट्रेलियन नेप्लीज कम्युनिटी सेन्टरका अध्यक्ष रञ्जन वैद्यले यसैगरी अन्य ठाउँमा पनि संकलित रकम जुट्दै गएमा आफ्नै नेपाली कम्युनिटी सेन्टर बनाउने कार्यले छिट्टै मूर्तरुप लिने धारणा राख्नुभयो ।

कार्यक्रममा एनएमसीका संयोजक जनक गौतमले आफुहरुले नेपाली मन्दिर स्थापना गर्ने उद्देश्यका साथ थालेको अभियानलाई नेपाली सामूदायिक केन्द्र निर्माणसँगै अघि बढाउन पाउँदा खुशी लागेको बताउनुभयो । एएनएमसीका उपाध्यक्ष बम योञ्जनले सहकार्यबाट नै सफलता मिल्ने भन्दै सबैलाई एकजुट हुन आह्वा गर्नुभयो । कार्यक्रममा एएनएमसीको तर्फबाट सदस्य केशव कँडेल, डा. चन्द्रदिपक पोखरेल, सचिव गोपाल पोखरेल पनि आफ्नो धारणा राख्नुभएको थियो ।

यसअघि अष्ट्रेलियाका लािग अवैतनिक महावाणिज्यदूत चन्द्र योञ्जनले ५० हजार डलर सहयोग गर्ने घोषणा गरिसक्नुभएको छ । यस बाहेक आजीवन सदस्यता र सहयोगबाट १ लाख डलरभन्दा बढी सहयोग जुटिसकेको छ ।

-MNTV

Comments

comments