काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टेन्टमा मादक पदार्थ सेवन गरेर सवारी चालाउनेहरुको कक्षा चलिरहेको थियो । मापसे गरेर सवारी चलाउँदा बढ्ने जोखिमबारे ब्रिफिङ हुंदाहुंदै एक ब्यक्ति टेन्टभित्र छिरे र मापसेकर्ता चालकसंगै कक्षामा सहभागी भए ।

तर, ती मापसे गरेर सवारी चलाएर नियम उल्लघंनकर्ता चालक हैन प्रहरी महानिरिक्षक उपेन्द्रकान्त अर्याल थिए जो ट्राफिक महाशाखाको गतिविधीको छड्के निगरानीका लागी आएका थिए ।

यसअघि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र लागुऔषध नियन्त्रण ब्युरोको छड्के निगरानीमा गएका अर्याल मंगलबार रामशाहपथमा रहेको ट्राफिक महाशाखाको गतिविधी हेर्न कार्यालयमा पुगेका थिए ।

कक्षामा सहभागीहुंदाहुंदै उनले त्यहां सहभागीको गुनासो सुनेका थिए । आइजीसंगै सहभागी एक प्रहरी अधिकारीका अनुसार अधिकांशले मापसेमाथिको कारवाहीको मापदण्ड तोक्न माग गरेका थिए ।

मापसे कक्षापछी महाशाखामा आएका सेवाग्रहीसंग उनले कुराकानी गरे । महाननिरिक्षकलाई सेवाग्रहीले ट्राफिक जरिवानावापतको पैसा बुझाउन लाइन लामो हुंदा समय लाग्ने गरेको, लाइसेन्स,ब्लुबुक खोज्न धेरै समय लाग्ने गुनासो सुनाएका थिए ।

Comments

comments