मेलबर्न । प्रवासी नेपाली मञ्च भिक्टोरियाको आयोजनामा मेलबर्नमा तीज धमाका सम्पन्न भएको छ ।

स्थानीय ईस्टोनिया हाउसमा आइतबार आयोजना गरिएको कार्यक्रमका प्रमुख आकर्षणका रुपमा चर्चित लोकदोहोरी गायक पशुपति शर्मा र गायिका मञ्जु पौडेल थिए । उनीहरु दुवैजनाले आफ्नो प्रस्तुतिमार्फत उपस्थितहरुलाई भरपूर मनोरञ्जन दिलाएका थिए । करिब तीन घण्टा चलेको कार्यक्रममा पशुपति शर्माले आफ्ना चर्चित गीतहरु गाए । साथै उनले गायिका मञ्जु पौडेलसँग लाईभ दोहोरी खेल्न समेत भ्याए । मञ्जु पौडेलले पनि आफ्ना लोकप्रिय गीतहरु प्रस्तुत गरि दर्शकहरुलाई थप मनोरञ्जन प्रदान गरिन् ।

नेपालको राष्ट्रिय गान बजाएर शुभारम्भ गरिएको कार्यक्रममा कार्यक्रम सफल बनाउनका लागि सहयोग गर्ने प्रायोजक, विभिन्न संघ संस्थाका साथै सञ्चारकर्मी र कलाकारहरुलाई प्रशंसापत्र र सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा करिब ४ सयभन्दा बढी दर्शक उपस्थित थिए ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रवासी नेपाली मञ्च भिक्टोरियाका अध्यक्ष कृष्ण न्यौपानेले खुशी व्यक्त गर्नुभयो । साथै उहाँले कार्यक्रम सफल तुल्याउन सहयोग गर्ने सबैलाई धन्यवाद समेत दिनुभयो ।

Comments