मेलबर्न । अष्ट्रेलियाको नागरिकता लिएर पनि पुनः त्याग्ने योजनामा रहेका नेपालीहरुको संख्या अहिले बढ्दैछ । नेपालमै पनि प्रसस्तै सम्भावना र अवसरको वातावरण बन्दै गएपछि नेपालमै फर्केर केही गर्ने सोंच बोकेका नेपालीहरु पनि बढ्दैछन् । तर नागरिकता जस्तो कुरा केटाकेटीको खेल होइन,मन लाग्दा लिने र आवश्यक नपर्दा त्याग्ने । त्यसैले लिइसकेको अष्ट्रेलियाको नागरिकता कसरी त्याग्न सकिन्छ ? भन्नेबारे यहाँ संक्षेपमा चर्चा गर्दैछौं ।

यस्तो सन्दर्भमा अष्ट्रेलिया र नेपाल दुवै देशको कानुन विचार गर्नुपर्ने विज्ञहरु बताउँछन् । १८ वर्षभन्दा बढी उमेरका अष्ट्रेलियाली नागरिकले अष्ट्रेलियाको नागरिकता त्याग्न चाहेमा त्यसो गर्न पाउने प्रावधान छ । तर अष्ट्रेलियाले ‘राज्यविहीनता न्यूनीकरण सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धी’मा हस्ताक्षर गरेको हुनाले उसका केही शर्तहरुको पालना भने गर्नुपर्ने हुन्छ ।

दोहोरो नागरिकताको व्यवस्था भएका देशका नागरिकहरुका सम्बन्धमा खासै समस्या पर्दैन, किनभने अष्ट्रेलियाको नागरिकता त्यागे पनि ऊसँग अर्को देशको नागरिकता हुन्छ । तर नेपालले अझै पनि दोहोरो नागरिकताको व्यवस्था नगरेको हुनाले अस्ट्रेलियाले त्यत्तिकै यहाँको नागरिकता त्याग्न दिँदैन । किनभने त्यसो गर्दा आफ्नो नागरिक राज्यविहीन हुन पुग्ने उसलाई डर छ ।

त्यसैले एकपटक नेपाली नागरिकता त्यागेर अष्ट्रेलियाको नागरिकता लिइसकेपछि पुनः नेपालकै नागरिकता लिन ठूलै कानूनी जटिलताको सामना गर्नुपर्ने हुन्छ । यसकारण पछि नेपालमै गएर बस्ने सोंच भएका नेपालीहरुले सकभर नागरिकता नत्याग्न विज्ञहरु सुझाव दिन्छन् ।

Please follow and like us:

Comments