काठमाडों । विभिन्न दलका नेताहरुले संवैधानिक नियोगका प्रमुखहरुमाथि महाभियोग लगाउँन नसकिने धारणा राखेका छन् । यस्ता कुराले मुलुकलाई अराजक तर्फ लैजाने उनीहरुको धारणा छ ।

प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसका नेता डा. नारायण खड्काले संवैधानिक निकायको प्रमुखलाई महाअभियोग लगाउने कुरा आफ्नो पार्टीलाई स्वीकार्य नहुने बताउँनुभएको छ । यस्तो अनावश्यक विषय उठाएर सडकमा कसैले चिच्याउँदैमा त्यसको पछि काँग्रेस नलाग्ने उहाँको प्रष्टोक्ति थियो । उहाँले आज अख्तियार प्रमुखलाई महाभियोग लगाउन माग गर्नेहरुले भोलि सडकमा उफ्रिएर राष्ट्रपति र प्रधानन्याधिशलाई पनि हटाउने कुरा गर्न सक्ने बताउँनुभयो । मुलुकलाई अराजकतर्फ लैजाने यस्ता कुराको पछि काँग्रेस नलाग्ने उहाँको कथन थियो ।

काठमाडौंमा सोमवार आयोजित कार्यक्रममा नेकपा एमालेका सचिव भीम आचार्यले संसदमा दर्ता भएको सार्वजनिक महत्वको प्रस्ताव बेअर्थको प्रस्ताव भएको टिप्पणी गर्नुभयो । यो प्रस्ताव कसैले आफूलाई चर्चित बनाउने उद्देश्यले अघि सारेको दाबी गर्दै उहाँले यसको कुनै तुक नरहेको तर्क गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका नेता तथा दिनानाथ शर्माले पनि बजारमा आउने हल्लाको पछि आफ्नो पार्टी नलाग्ने प्रष्ट पार्नुभयो । उहाँले अख्तियार प्रमुखमाथि महाअभियोग लगाउनेबारेमा अहिलेसम्म आफ्नो पार्टीले नसोचेको जानकारी दिनुभयो ।

यस्तै राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले अख्तियारको कामकारवाहीबाट भ्रष्टाचारीहरुको मुटु थर्किएको बताउँदै जनता भने अख्तियारको कामबाट खुशी रहेको दाबी गर्नुभयो ।

त्यस्तै संघीय समाजवादी फोरम नेपालका प्रमुख सचेतक डा. शिवजी यादवले निहित स्वार्थ बोकेका व्यत्तिहरुले संवैधानिक निकायका प्रमुखहरुमाथि महाअभियोग लगाउनेबारेमा हल्ला फिँजाएको टिप्प्णी गर्नुभयो ।

कार्यक्रममा बोल्ने नेताहरुले विधि र विधानबाहिरबाट ल्याईएका यस्ता प्रस्तावमाथि छलफलको कुनै अर्थ नरहने बताए ।

Comments

comments