मेलबर्न । ब्राजिलको रियोमा जारी ११ औं ओलम्पिक खेलकूदको पदक तालिकामा अष्ट्रेलियाले प्रारम्भिक अग्रता लिएको छ ।

आइतवार रातिसम्मको पदक तालिकामा २ स्वर्ण र एक काँस्य सहित कुल ३ पदक जितेको अष्ट्रेलियाले प्रारम्भिक अग्रता लिएको हो ।

अष्ट्रेलियाका लागि पौडीमा क्याम्पबेल दिदी बहिनीले स्वर्ण जितेका हुन् । यी दुई दिदी बहिनीको उत्कृष्ट प्रदर्शनका कारण कङ्गारु टोलीले चार गुणा सय मिटर फ्रिस्टाइल रिलेमा विश्व कीर्तिमान बनाएको छ ।

अमेरिकी पौडीबाज केट्टी लेडेकीले अग्रता गरेको रिलेमा आइतबार राति केट र ब्रोन्टे क्याम्पबेल दिदी बहिनीले तुषारापात गरे । पहिले बहिनी ब्रोन्टेले अमेरिकाकी डाना भोलेमरलाई तेस्रो लेगमा पछि पारिन्। त्यसपछि दिदी केटले केट्टीलाई अन्तिम राउन्डमा पछाडि धकेल्दै ३ मिनेट ३० दशमलव ६५ सेकेन्डको समय निकालेर अस्ट्रेलियालाई स्वर्ण दिलाइन् ।

यसअघि यो स्पर्धामा विश्व कीर्तिमान अष्ट्रेलियाकै नाममा थियो । अष्ट्रेलियाले दुई वर्षअघि ३ मिनेट ३० दशमलव ९८ सेकेन्डमा दुरी पूरा गरेको थियो। अमेरिकाले यो स्पर्धा ३ मिनेट ३१ दशमलव ८९ सेकेन्डमा पूरा गरेर रजत जित्यो ।

सन् १९९६ को एट्लान्टा ओलम्पिकपछि अमेरिकाले यो स्पर्धामा स्वर्ण जित्न सकेको छैन । क्यानाडाले ३ मिनेट ३२ दशमलव ८९ को समय निकालेर कास्य जित्यो ।

Comments

comments