मेलबर्न । एनआरएन अष्ट्रेलियाले नेपालका विभिन्न भागमा हालै गएको बाढी पहिरोका पीडितहरुलाई सहयोगका लागि आह्वान गरेको छ ।

एनआरएन अष्ट्रेलियाले एक विज्ञप्ति जारी गर्दै नेपालमा यसैवर्ष गएको बाढीपहिरोबाट पीडित बनेकाहरुको सहयोगका लागि अष्ट्रेलियावासी नेपाली समूदायमा आह्वान गरेको हो । नेपालमा परेको विपत्तिमा एकजुट हुन एनआरएनले आग्रह गरेको हो । अष्ट्रेलियाका सबै राज्यमा रहेका आफ्ना कमिटीहरुमार्फत सहयोग संकलनलाई तिव्रता दिइने एनआरएन अध्यक्ष सुरेन्द्र सिग्देलले बताउनुभयो । उहाँले हरेक राज्यमा रहेका एनआरएन अष्ट्रेलिया राज्य समितिका संयोजकहरुलाई नै यस कार्यको लागि पनि संयोजन गर्ने जिम्मा दिएको जानकारी दिनुभयो ।
यसैगरी एनआरएन अष्ट्रेलियाका प्रवक्ता डा. ज्ञानेन्द्र रेग्मीले एनआरएन अष्ट्रेलियाको नाममा रहेको खाता नम्बर ०३२००६३०७९८२ मा आफ्नो नाम उल्लेख गरेर सहयोग रकम जम्मा गर्न सकिने बताउँनुभयो ।

पछिल्लो समय अविरल वर्षापछि गएको बाढीका कारण तराईका केही जिल्ला प्रभावित भएका छन् भने पहाडी जिल्लाहरुमा समेत धनजनको क्षति भएको छ । नेपाल सरकारको तथ्यांक अनुसार नै पनि यसवर्ष बाढी पहिरोमा परी एक सय २ जनाको ज्यान गइसकेको छ । देशका विभिन्न ४३ जिल्ला बाढी पहिरोको मारमा परेका छन् । बाढी पहिरोकै कारण २२ जनाको अवस्था अज्ञात छ भने उद्धार र राहतका लागि प्रहरी, नेपाली सेना र कर्मचारी लगायत सरकारी निकाय खटिएको छ । मुख्यतः प्युठान, बागलुंग र बाँके जिल्ला बाढीबाट नराम्ररी प्रभावित भएका छन् ।

यसअघि मेलबर्नमा सोलाङचरको संयोजनमा नेपाल निड्स यू अभियान सञ्चालित छ । जसमा बुधबारसम्म २ हजार ८ सय ३९ डलर सहयोग संकलन भइसकेको छ । यो सहयोग रकमले बाढी पीडितको लागि लत्ताकपडा, खाद्यान्न र औषधि सहयोग गर्ने योजना रहेको संस्थाका राजु शाक्यले बताउनुभयो । संकलित सबै सहयोग रकमलाई गायक रोहितजोन क्षेत्रीले आफैं प्रभावित क्षेत्रमा पुगी हस्तान्तरण गरिने बताइएको छ ।

यता नेकपा माओवादी केन्द्रको प्रवासी नेपाली संगठन जनप्रगतिशील मञ्च अष्ट्रेलियाले बाढी पीडित प्युठानका बासिन्दाहरुको लागि एक लाख ६८ हजार ४ सय सहयोग पठाएको मञ्च अष्ट्रेलियाका प्रमुख सल्लाहकार शेषमणि शर्माले जानकारी दिनुभयो ।

Comments

comments