काठमाडौं । नेकपा माओवादी केन्द्रले बिहीबार नै आफ्ना तीन मन्त्रीलाई सपथ खुवाउने भएको छ । बिहान बसेको केन्द्रको पार्टी हेडक्वाटर बैठकले तीन जना नेतालाई मन्त्रीको सपथ खुवाउने निर्णय गरेको हो ।

बैठकले तीन जना मन्त्रीलाई बिहीबार नै सपथ खुवाउने निर्णय गरे पनि नाम भने टुंगो लगाउन सकेको छैन । नामावली टुंगो लगाउन दिउँसो १ बजे कार्य समितिको बैठक बस्ने भएको छ ।

नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिउँसो तीन बजे पद तथा गोपनियताको सपथ ग्रहण गरेपछि मन्त्रीलाई पनि सपथ गराउने तयारी छ ।

यता नेपाली काँग्रेसले पनि विहीवार नै केही मन्त्रीहरुलाई शपथ ग्रहण गराउँने तयारी गरेको छ । तर काँग्रेसभित्र आकांक्षी धेरै भएकोले टुङ्गोमा पुग्न सभापति देउवालाई मुस्किल परेको छ । त्यसैले भावी सरकारमा पठाउने मन्त्रीहरुको नाम छान्न नेपाली कांग्रेसका दुई समुह विहानैदेखि छलफलमा जुटेका छन् । सभापति शेरबहादुर देउवा समुह उनको निवास बुढानीलकण्ठमा बसिरहेको छ भने पौडेल समुहले छुट्टै छलफल गरिरहेको छ ।

देउवा समुहको बैठकमा विमलेन्द्र निधि उपप्रधानमन्त्रीसहित गृह मन्त्री हुने पक्का भइसकेको छ भने प्रकाशशरण महत, अर्जुननरसिंह केसी, रमेश लेखक र बालकृष्ण खाँडले मन्त्रीको दावी गरिरहेका छन् । उनीहरुलाई राखेर देउवाले सरकारमा जाने मन्त्रीहरुको नाम टंगो लगाउँदैछन् ।

त्यसैगरी वरिष्ठ नेता रामचन्द्र पौडेलले समुहको बैठक पनि बसिरहेको छ । पौडेल समुहबाट परराष्ट्रमन्त्रीमा डा. शेखर कोइरालाको नाम टुंगिसकेको छ भने अन्य नेताहरुको नाममा छलफल भइरहेको छ । पौडेल समुहबाट डा. रामशरण महत, कोषाध्यक्ष सितादेवी यादव, प्रकाशमान सिंहको नाममा छलफल भइरहेको छ भने महामन्त्री डा. शशांक कोइरालाले दिपक गिरीको नाम सिफारिस गरेका छन् ।

Comments

comments