काठमाडौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालले पद तथा गोपनीयताको शपथ बिहीबार दिउँसो लिनुहुनेभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार दिउँसो ३ बजे एक विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री दाहाललाई पद तथा गोपनीयताको शपथ खुवाउने राष्ट्रपति कार्यालयको तयारी छ ।

सपथ ग्रहणपछि प्रधानमन्त्री दाहालले विहीवार नै सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा गएर पदभार ग्रहण गर्नुहुनेछ । दाहालले विहीवार नै नेपाली काँग्रेस सहितको सानो मन्त्रीमण्डल गठन गर्ने तयारी पनि गर्नुभएको बताइएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बुधवार मुलुकको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनु भएको हो। यस अघि गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बन्नु भएका दाहाल दोश्रो पटक प्रधानमन्त्री बन्नु भएको हो ।

प्रधानमन्त्रीका लागि एक्लो उम्मेदवार रहनु भएका पुष्पकमल दाहालले प्रधानमन्त्रीका लागि भएको मतदानमा ३६३ मत प्राप्त गर्नुभएको थियो । दाहालको विपक्षमा २१० मत प¥यो । दाहालको पक्षमा नेपाली कांग्रेससहित १५ दल र एक स्वतन्त्र सांसदले मतदान गरेका थिए । दाहालको विपक्षमा सत्ताबाट बाहिरिएको नेकपा एमाले र राप्रपा नेपालले मतदान गरेको थियो । संसदको तत्काल कायम सदस्य संख्या ५९५ जना भए पनि २२ जना अनुपस्थित भएका थिए । मतदानमा ५७३ सांसद मात्रै सहभागी भएका थिए ।

दाहाल नेपालको इतिहासमा दोस्रो पटक प्रधानमन्त्री बन्ने पहिलो कम्युनिष्ट प्रधानमन्त्री बन्न सफल हुनु भएको छ । पहिलो पटक प्रधानमन्त्रीबाट राजीनामा दिएको २ हजार ६४८ दिनपछि दाहाल पुनः प्रधानमन्त्री निर्वाचित हनु भएको हो । दाहाल नेपालको इतिहासमा दोस्रा कम्युनिष्ट प्रधानमन्त्री हुन भने संसदबाट चुनिएका पहिलो कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी हुन् ।

Comments

comments