काठमाडौं । १३ वर्षकी नेपालकी कीर्तिमानी पौडीबाज गौरिका सिंह सन् २०१६ रियो ओलम्पिकमा सहभागी हुने सबैभन्दा कान्छी खेलाडी बनेकी छन् । यति सानै उमेरमा नै उनले अहिलेसम्म सातवटा राष्ट्रिय कीर्तिमान बनाइसकेकी छन् ।

रियो ओलम्पिकको आयोजकले नेपाली खेलाडी गौरिका सबैभन्दा कान्छी खेलाडी भएको पुष्टि गरेको हो । उनको उमेर १३ वर्ष २५५ दिन छ रियो ओलम्पिकको आधिकारिक वेबसाइटमा उनलाई भूकम्पबाट बाँचेकी, जो रियो ओम्पिक २०१६ कै युवा खेलाडी भनेर चिनाइएको छ । रियो ओलम्पिकमा गौरिकाले १०० मिटर ब्याकस्ट्रोकमा प्रतिस्पर्धा गर्दैछिन् । महिला १०० ब्याकस्ट्रोकमा उनको उत्कृष्ट रेकर्ड एक मिनेट ८.१२ सेकेन्ड छ । यो विधाको प्रतिस्पर्धा अगष्ट ८ मा हुनेछ ।

यसअघि भारतको गुवाहाटी र सिलोङमा भएको १२ औं सागमा उनले चार स्पर्धामा नै पदक जितेकी थिइन् । त्यसबेला उनले एक रजत र तीन काँस्य जितेकी थिइन् ।

Comments

comments