काठमाडौं । व्यवस्थापिका संसद नयाँ प्रधानमन्त्री चयनको प्रक्रियामा प्रवेश गर्दै गर्दा नेकपा एमालेभित्र कसलाई उम्मेदवार बनाउँने भन्ने विषयमा अझै टुङ्गो लाग्न सकेको छैन ।

उता कांग्रेसको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल गठबन्धनबाट प्रधानमन्त्रीको उमेद्वार बन्ने निश्चित छ भने उनको पक्षमा मधेसी मोर्चा र केही साना दलहरु समेत रहनेछन् ।

केपी ओली सरकारलाई साथ दिइरहेका, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपालगायतका दलहरु भने प्रतिपक्षमा बस्ने निश्चित छ । तटस्थ बस्न नपाउने संविधानको प्रावधानअनुसार प्रतिपक्ष तय गर्न यी दलहरुबाट दाहालविरुद्ध उम्मेद्वारी दिनुपर्नेछ । प्रचण्डविरुद्ध कसलाई उभ्याउने भन्नेबारे एमालेभित्र मात्र होइन, उसलाई सघाइरहेका साना दलहरुभित्र पनि अझै अन्यौल कायम छ । तर यसबारेमा अनौपचारिक बहस भने प्रारम्भ भएको छ ।

एमालेभित्र अहिले पार्टीभित्रबाट उम्मेद्वार बनाउने कि गठबन्धनबाट भन्ने दुई विकल्पमा छलफल भइरहेको छ । पराजित हुने निश्चित भइसकेको चुनावमा गठबन्धनको सहमतिबाट उम्मेद्वार तय हुने संभावना बढी छ । यो अवस्थामा ओली सरकारमा उपप्रम रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, मालेका महासचिव सीपी मैनाली र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी सम्भावित नाम हुन् ।

एक पटक प्रमको उम्मेद्वार बनिसकेपछि फेरि स्वतः उम्मेद्वार हुने भएकाले पार्टीभित्र असहजता ननिम्त्याउँन पनि गठबन्धनका कुनै दलबाट उम्मेद्वार बनाउने विकल्पमा एमालेका नेताहरु छन् । स्रोतका अनुसार यी तीन नाममध्ये केसीलाई बनाउँनुपर्छ भन्ने मत एमालेमा बलियो छ । तर, केसीले भने आफू प्रमको उम्मेद्वार नबन्ने बताइसकेका छन् ।

यस्तो अवस्थामा एमालेभित्रैबाट उमेद्वार बनाउनुपर्ने अवस्था आइपर्नसक्ने देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली, बरिष्ठ नेताहरू झलनाथ खनाल र माधवकुमार नेपाल प्रधानमन्त्री भइसकेका छन्। यो अवस्थामा काम चलाऊ सरकारको नेतृत्व गरिरहेका ओली पार्टी अध्यक्ष एवम् संसदीय दलको नेता समेत रहेकाले उनको नाममा विवाद नहुने भए पनि ओली अहिले प्रमको उम्मेद्वार बन्ने मनसायमा नरहेको निकट स्रोतले बताएको छ ।

तीन पटक गृहमन्त्री भइसकेका उपाध्यक्ष वामदेव गौतमलाई प्रमको उम्मेद्वार बनाउँनुपर्ने आवाजहरु पनि एमालेमा सुनिन थालेको छ । गौतम पनि प्रमको उम्मेदवार बन्न तयार पनि छन् ।

तर, अध्यक्ष ओली भने गौतम नभई पूर्वसभामुख रहेका सुवास नेम्वाङलाई अघि बढाउन चाहन्छन् । नेम्वाङलाई सभामुखबाट हटेलगत्तै स्थायी कमिटी सदस्य र दलको उपनेता मनोनित गर्दै उत्तराधिकारीका रुपमा अघि बढाउने तयारीमा रहेका ओली गौतमलाई मनाएर नेम्वाङ अघि बढाउने रणनीतिमा छन् । त्यसैले नेम्वाङ प्रचण्डविरुद्ध लड्ने सम्भावना बलियो बन्दै गएको स्रोतले बतायो ।

Comments

comments