काठमाडौं । नायक अनमोल केसीको पाचौ चलचित्र कृ की नायिकाको टुङ्गो लागेको छ । यसअघिका चलचित्रहरुमा जस्तै कृ मा पनि अनमोलको नायिका नयाँ नै रहनेछिन् ।

अनमोलले यो चलचित्रमा काम गरेवापत्त २० लाख रुपैयाँ पारिश्रमिक लिएको खबरसँगै चर्चामा छाएको कृ को नायिकाका लागि ३० जनाले निवेदन दिएका थिए । जसमध्येबाट १० जनालाई छानेर अडिसन लिइएको थियो । १० जनाको अडिसनबाट चलचित्रको मुख्य भूमिकामा मोडल अदिती वुढाथोकी फाइनल गरिएको निर्माणपक्षले जानकारी दिएको हो । सुवास इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुने चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुत गर्नेछ ।

चलचित्रमा सुवास गिरी र भूवन केसी निर्माता रहेका छन् । कमल गिरी कार्यकारी निर्माता रहेको चलचित्रमा श्री पराजुली सह–निर्माता हुन् । चलचित्रको छायांकन माघबाट सुरु हुने बताइएको छ । चलचित्रलाई चर्चित सम्पादक तथा चलचित्र ‘आभाष’ निर्देशन गरेका निर्देशक सुरेन्द्र पौडेलले निर्देशन गर्नेछन् ।

Aditi-4नायक अनमोल केसीसँग काम गर्न लागेकी अदिती बुढाथोकी चर्चित मोडल हुन् । उनको सामाजिक संजाल इन्स्ट्राग्राममा १ लाख भन्दा बढी फलोअर्स छन् । अदितीले हालै मात्र भारतको चर्चित म्यूजिक कम्पनी सोनी म्यूजिकबाट बन्न लागेका ३ वटा म्यूजिक भिडियोमा काम गर्नका लागि संझौता गरिसकेकी छिन् ।

हाल उनी काठमाडौंको सिनामंगलमा बस्दै आएकी छिन् ।

Comments

comments