काठमाडौं । यस वर्षको भोटोजात्रा शुक्रबार देखाइँदैछ ।

रातो मच्छिन्द्रनाथको रथ ललितपुरको थटीटोलबाट गएको मंगलबार जावलाखेल पुर्याइएको चौथो दिन शुक्रबार भोटोजात्राको साइत परेको छ । जाउलाखेलमा दिउँसो ४ बजेपछि राष्ट्रपतिको उपस्थितिमा भोटो देखाउने कार्यक्रम छ । एक हजार तीनसय वर्षअघि रातो मच्छिन्द्रनाथको रथ यात्रा सुरु भएको हो । किंवदन्ती अनुसार टौदहलाई राजधानी बनाएर नागराज्य चलाएका राजा कर्कोटककी रानीको आँखा दुख्यो । कर्कोटकले उपचारका लागि वैद्यको खोजी गरे । खेतमा काम गरिरहेका किसानलाई लगेर उपचार गर्न अनुरोध गरे ।

किसानले हातको मयल माडेर औषधिका रूपमा रानीको आँखामा हालिदिए । संयोगवश आँखा निको भयो । खुसी भएका नागराजले किसानलाई हिराजडित भोटो दिएर पठाए । एकदिन किसानले खेतको डिलमा भोटो राखेर काम गर्न थाले । एउटा भूतले आएर भोटो लग्यो ।

त्यसको भोलिपल्ट रातो मच्छिन्द्रनाथको रथ यात्रा हेर्न किसान थटीटोल जाँदा भूतले भोटो लगाएर आएको देखेपछि दुवैबीच झगडा भएकाले भोटो मच्छिन्द्रनाथको जिम्मा लगाइयो । त्यसबेलाका राजाले भोटोको प्रमाणसहित लिन आउनू भनी रथ जावलाखेल पुर्याएको चौथो दिन भोटो देखाउने चलन रहेको जनविश्वास छ ।

भोटो देखाउने जात्राको अवसरमा सरकारले शुक्रवार  काठमाण्डू उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।

Please follow and like us:

Comments