काठमाडौ । देशभरी भारी बर्षाले जनजीवन प्रभावित भएको छ । पूर्वी नेपाल र तराईका जिल्ला जलमग्न भएका छन् भने पहाडी जिल्लामा पहिरोको जोखिम बढेको छ । गुल्मी, मकवानपुर, प्युठान, पाल्पा, सुनसरीलगायतका जिल्लामा पहिरोमा परी दर्जन बढीले ज्यान गुमाएका छन् ।

प्युठानको लुङ गाविस–६ मा शिशिर रिजालको घर पहिरोले भत्काउँदा उनकी श्रीमती शोभा रिजालको मृत्यु भएको छ । पहिरोले घर भत्काएपछि शोभाको उद्दार गर्नखोज्दा मृत्यु भएको थियो भने परिवारका अन्य सदस्य भाग्न सफल भएका थिए । यसैगरी, बागदुला पुलमुनि अन्दाजी १२ वर्षीया अज्ञात बालिकाको शव फेला परेको र कार्कीडाँडा पक्की पुलमुनि झिमु्रक खोलाको माझमा पनि एक बेवारिसे शव फेला परेको छ । खैरा झोलुङ्गे पुलमुनि अर्को एक शव पनि फेला परेको छ । त्यस्तै, झिमु्रक नदीको खैरामा बुटवल पावर कम्पनीको ड्याम साइटमा पनि अर्को एक बेवारिसे शव फेला परेको प्रहरी नायब उपरीक्षक रञ्जीतसिंह राठौरले बताउनुभएको छ । लुङ–६ मा डेरा गरी बस्ने काली विक र पवित्रा पुन आफ्नो घर पहिरोले बगाउँदा बेपत्ता भएका छन् ।

त्यसैगरी, खवाङ राजवारा र अर्खा गाविसमा अहिलेसम्म एक दर्जन घरमा क्षति भएको तर मानवीय क्षतिको भने कुनै विवरण नआएको बताउनुभयो ।

सप्तरीको कमला नदीको बाढीमा बगेर मृत्यु भएका एक जनाको शव सिरहा प्रहरीले फेला पारेको छ । कमला नदीमा डुबेर बेपत्ता भएका महोत्तरीको बर्दिवासका २१ वर्षीय मनोज योगीको शव प्रहरीले सिरहाको बन्दीपुरदेखि करिब पाँच किलोमिटर उत्तरतर्फ कमला नदीको भंगालोमा सोमबार साँझ फेला पारेको हो । साउने सोमबारको अवसरमा मेला भर्न आइतबार साँझ सिरहाको उत्तरायणी जाने बेलामा योगीसहित महोत्तरीका चारजना युवा धनुषाको चिसापानीबाट कमला नदी पार गर्ने क्रममा कमला नदीमा बगेका थिए । अन्य तीनजना भने वेपत्ता रहेका र खोजी कार्य जारी रहेको छ । बगेका मध्ये योगीको शव कमला नदीको भंगालोमा सिराहा तर्फ फेला परेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरीक्षक श्यामसिंह चौधरीले जानकारी दिनुभयो । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पठाइएको बताइएको छ ।

त्यसैगरी मकवानपुर जिल्लाको भीमफेदी गाविस–५ सोला भञ्ज्याङमा गएराति पहिरो जाँदा एकै परिवारका तीन जनाको पुरिएर मृत्यु भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृत्यु हुनेमा २५ वर्षीय टेकबहादुर रुम्बालामा, उनकी श्रीमती २३ वर्षीया पार्वती रुम्बालामा र उनका छोरा ५ वर्षीय विकास रुम्बा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी अविरल वर्षासँगै गएको पहिरोले पुरिएर गुल्मीमा पाँच जनाको ज्यान गएको छ । यसरी ज्यान जानेमा गुल्मीको हस्तिचौर गाविस एक मल्दी निवासी एकै परिवारका ६२ वर्षीया कालीका दर्जी, ४९ वर्षीया तुलसी दर्जी र १९ वर्षीया अस्मिता दर्जी रहेका छन् । त्यसैगरी, बिसुखर्क गाविस–९ मा पहिरोले पुरिएर गोपाल रानाका ८ वर्षीय छोरा सुजन राना र ६ वर्षीया छोरी सिमाना रानाको समेत ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक भोला रावलले जानकारी दिनुभएको छ । पहिरोमा पुरिएर हस्तिचौरका ५० वर्षीय विष्णु सारु घाइते बनेका छन् । अहिले पनि घरमाथिबाट पहिरो खसिरहेका कारण पहिरोमा पुरिएका विसुखर्कका राना परिवारको उद्धार गर्न समस्या परेको प्रहरीले बताएको छ । विगत ५५ वर्षपछि गुल्मीमा यति ठूलो बाढी आएको स्थानीयले बताएका छन् । बाढीले हजारौँ रोपनी फाँट समेत डुबानमा पारेको छ । बाढी र पहिरोका कारण गुल्मीमा एक दर्जनभन्दा बढी घरगोठमा समेत क्षति पुगेको बताइएको छ ।

त्यसैगरी सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा जिल्लाको दोभान गाविस–१ झुम्सामा पहिरोले घर पुरिँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुने तिलोत्तमा उच्च मावि दोभानमा कक्षा ९ मा पढ्ने १४ वर्षीया अस्मिता विक रहेकी छिन् । राति सुतिरहेको बेला सडकमाथिको पहिरोले घर पुरिँदा च्यापिएर ज्यान गएको स्थानीय नारायण थापाले जानकारी दिनुभयो । पहिरोले तीन घर पुरिएका छन् भने अन्य चार घर जोखिममा रहेको स्थानीयले बताएका छन् । बिहानैदेखि स्थानीय बासिन्दा, प्रहरी, सशस्त्र प्रहरीको पहलमा उद्धार गरिरहेको स्थानीय बासिन्दा थापाले बताउनुभयो ।

यता सुनसरी जिल्लाका ११ गाविस, तीन नगरपालिका र एक उपमहानगरपालिकाको एक हजार ७०० घर डुबानमा परेका छन् । गएराति परेको वर्षाले जिल्लाको नरसिंह गाविसको वडा नम्बर ३, ४, ५, ६ र ७ मा अविरल परेको वर्षाले जलमग्न भई ७० घरभन्दा बढी बस्ती डुबानमा परेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । यसैगरी, छिटाहाको विभिन्न वडामा २५ घर साहेबगञ्ज गाविसको ७, ८ र ९ मा ५४ घर र घुस्की–४ मा थप ९ घर डुबान परेकाले ती डुबानमा परेकालाई सुरक्षित स्थानमा तथा आफन्तकोमा बसोबासका लागि प्रहरीले सहयोग गरेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ । सुनसरीका प्रहरी उपरीक्षक पोषराज पोख्रेलले सप्तकोसी नदीमा अहिले बिहान ८ बजेको समयमा दुई लाख ४३ हजार ७७४ क्युसेक प्रतिसेकेन्ड बाढीको बहाव कोसी ब्यारेजमा मापन भएको बताउनुभएको छ । अहिले ब्यारेजका ५६ ढोकामध्ये ३१ वटा ढोका खोलिएका छन् ।

सुनसरीकै बराहक्षेत्र–१ मा स्थानीय दूधखोलामा आएको बाढीले बगाई सप्तकोसी नदीमा पु¥याएकाले इटहरी उपमहानगरपालिका–१ आइतबारे निवासी १७ वर्षीया सुशीला कार्की बेपत्ता भएकी छिन् । उनको खोजी भइरहेको छ । उनीसँगै बगेका भोजपुर जिल्लाको मानेभञ्ज्याङ–५ निवासी ज्ञानेन्द्र पराजुलीको भने स्थानीयवासी र प्रहरीले जीवितै उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको पनि जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

Please follow and like us:

Comments