मेलबर्न । मेलबर्नमा नेपाली समुदायका बालबालिकाहरुका लागि क्रिकेट खेलको विशेष कार्यक्रम हुने भएको छ । हिमालयन किड्ज प्रोग्राम नाम दिइएको उक्त विशेष प्याकेज तीन वर्षदेखि पन्ध्र वर्षसम्मका नेपाली बालबालिकाहरुलाई ध्यानमा राखी बनाइएको हो ।

८ हप्तासम्म चल्ने उक्त विशेष क्रिकेट प्याकेजमा ३० जना बालबालिकाहरुलाई क्रिकेट सम्बन्धी विविध ज्ञानहरु सिकाइनेछ । अगष्ट ७ तारिख आइतवारदेखि शुरु हुने उक्त विशेष प्याकेजमा ३ वर्षदेखि १५ वर्षसम्मका बालबालिकाहरुले सहभागी हुन पाउँनेछन् । यसका लागि क्रिकेट खेल सम्बन्धी कुनै अनुभव आवश्यक नपर्ने आयोजकले जनाएको छ । ८ हप्ताको विशेष प्याकेज अन्तर्गत क्रिकेटप्रति रुची भएका बालबालिकाहरुलाई पारिवारिक वातावरणमा अनुभवी र दक्ष प्रशिक्षकहरुबाट क्रिकेट खेल्न आवश्यक ज्ञान र टेक्निकहरु सिकाइनेछ । जसमा टी२० म्याच समेत समावेश हुनेछ । यस प्याकेजका लागि छनौट भएका बालबालिकाहरुका लागि आवश्यक खेल सामाग्रीहरु पनि आयोजककै तर्फबाट उपलब्ध गराइनेछ । यसका लागि कुनै शुल्क पर्दैन । अष्ट्रेलियाका चर्चित कोचहरुका साथै अष्ट्रेलियामा लोकप्रिय नेपाली क्रिकेट खेलाडी सुनाम गौतमले बालबालिकाहरुलाई क्रिकेट खेलको अभ्यास गराउँनेछन् ।

नेप्लीज एसोसियन अफ भिक्टोरिया न्याभ र डब्लुएस स्पोर्टजको प्राविधिक सहयोगमा हुन लागेको यो प्याकेज कार्यक्रमलाई कँडेल कन्सल्टेनसीले पनि साथ दिएको छ ।

थोमस टाउन इन्डोर स्पोर्टस्को हलमा हुने ट्रेनिङ क्लास हरेक आइतवार विहान १० बजेदेखि १२ बजेसम्म दुई घण्टा हुनेछ ।

यो विशेष प्याकेजबाट नेपाली बालबालिकाहरुमा रहेको क्रिकेट खेलको प्रतिभा उजागार गर्न मद्दत पुग्ने प्याकेजका लागि सक्रिय भूमिका खेल्नुभएका तारा गैरेले बताउँनुभयो । यसबाट नेपाली समुदायले सम्भावित क्रिकेट स्टार पाउँनसक्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

Comments