सुनसरी । अन्तर्राष्ट्रिय आतंकवादी संगठनले नेपाल र भारतको सीमामा रहेको कोशी ब्यारेजको पुलमा ‘आक्रमण’ गर्ने योजना बनाएको तथ्य खुलेको छ । सुनसरी र सप्तरी जिल्लामा पर्ने कोशी ब्यारेजको पुलमा आक्रमण गर्ने योजना बनेको भन्दै भारतीय प्रशासनले लिखित रुपमा नेपालका प्रशासनलाई पत्र पठाएपछि यस्तो तथ्य खुलेको हो ।

भारत वीरपुर जिल्लाका डिस्ट्रीक म्याजेस्टेड (डिएम) बाट नेपाल स्थित सुनसरी जिल्ला प्रशासन कार्यालयलाई पत्र लेख्दै लस्करे ए तोइवा, जैस ई मोहमद र पाकिस्तानी मुजाहिदीनले कोशी पुलमा आक्रमणको योजना बनाएको उल्लेख गरिएको छ । पत्र ५ दिन अघि सुनसरी प्रशासनमा प्राप्त भएको हो । भारतीय जासुसी संस्था (र) ले दिएको सुचनाको आधारमा यी तीन अन्तर्राष्ट्रिय आतंकवादी संगठनले बिहार क्षेत्रमा ठुलो आतंक मञ्चाउने योजना बनाइरहेको बताइएको छ । त्यसमा पनि नेपाल भारत सीमा क्षेत्रमा रहेका महत्वपूर्ण स्थानमा उनिहरुले आक्रमण गर्ने योजना बनाइएको बताइएको छ । सोही आधारमा यो तथ्य बाहिर आएको हो ।

आक्रमणको योजना बनाएपछि सीमा सुरक्षा बल र वीरपुर प्रशासनले नेपाल प्रशासनलाई पनि जानकारी गराउन तत्कालै पत्र पठाएको थियो । पत्रमा यि तिन आतंकवादी संगठनको नाम समेत उल्लेख गरिएको छ । पत्रमा कोशी ब्यारेजलाई आक्रमणको निशाना बनाइएको बताउदै सुरक्षा कडा बनाउन भनिएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहन चापागाईले त्रिबरपुर डिएमबाट पत्र आएको बताउदै कोशी ब्यारेज र अन्य नाकामा नेपाल तर्फको सुरक्षा कडाई गरिएको जानकारी दिनुभयो ।

ब्यारेज पारी सप्तरीमा पहिले देखी नै शसस्त्र प्रहरीको टोली बस्दै आएको छ । यता सुनसरीमा भने नेपाल प्रहरीको टोलीले सुरक्षा दिदै आएको थियो । अहिले नेपाल प्रहरीसगै शसस्त्र प्रहरीको टोली ब्यारेजमा बस्न थालेको प्रजिअ चापागाईले जानकारी दिनुभयो ।

Comments

comments