काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएसँगै अब बन्ने सरकारमा कांग्रेसबाट कसले नेतृत्व गर्ने भन्ने विषयमा किचलो हुने देखिएको छ ।

उपप्रधानमन्त्रीसहित सरकारको नेतृत्वमा जानेमा चार जना आकांक्षी देखिएका छन् । मूलतः विमलेन्द्र निधि, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ र अर्जुननरसिंह केसीको नाममा छलफल भइरहेको बताइएको छ ।

ओली सरकार ढाल्न आन्तरिक र बाह्य समर्थन जुटाउन मुख्य भूमिका खेलेका कारण निधीको दाबी बलियो रहेको स्रोतको दाबी छ । तर, उहाँले उपसभापतिमा पनि आफ्नो बलियो दाबी कायम राख्नुभएको छ ।

देउवा गोपालमानलाई संसदीय दलको उपनेता र सरकारमा नेतृत्व दिएर सभापति देउवा अन्तिमपटक अवसर दिन इच्छुक रहेको चर्चा पनि कांग्रेस वृत्तमा चलेको छ ।

कृष्णप्रसाद सिटौला उपप्रधानमन्त्री र गृहमन्त्रीका अर्का प्रमुख दाबेदार हुनुहुन्छ । अर्जुननरसिंह केसीले उपप्रधानमन्त्री दाबी गरे पनि अन्तिममा उहाँलाई रोजेको मन्त्रालय दिएर न्याय गर्ने सोचमा देउवा रहेको निकटस्थ स्रोतले जनाएको छ ।
सिटौला उपप्रधानमन्त्री नभएमा गगन थापा र भीमसेनदास प्रधान उहाँको टीमबाट मन्त्रीका दाबेदार हुन् । गृहमन्त्रीमा पूर्णबहादुर खडकाको नाम पनि कांग्रेसभित्र चर्चामा छ ।

कांग्रेसले १३ मन्त्रालय पाउने मोटामोटी सहमति भएको बताइएको छ । तर, मन्त्रालय बाँडफाँडकै टुंगो नलागेका कारण को को मन्त्री बन्ने भनेर छलफल नै नभएको स्रोतले बतायो ।

कांग्रेसबाट यसपटक मन्त्रीमा डा.शेखर कोइराला, प्रकाशशरण महत, बालकृष्ण खाँड, मीन विश्वकर्मा, अर्जुन जोशी लगायत जाने भएका छन् ।

Comments

comments