काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका विषयमा संसदले गर्ने निर्णयअनुसार नै अघि बढ्ने स्पष्ट परेकी छिन्।

कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग आइतबार विहान शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका विषयमा संसदीय मान्यता विपरीत आफू कहिल्यै नजाने स्पष्ट पारेकी हुन्।

 प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारको बर्हिगमनसँगै नयाँ सरकार गठनबारे उत्पन्न हुने संवैधानिक प्रक्रियाबारे सर्वोच्च अदालतसँग राष्ट्रपतिले परामर्शको तयारी गरेपछि कांग्रेस सभापति देउवा र माओवादी अध्यक्ष प्रचण्डले आइतबार भेटेर संसदको निर्णयभन्दा बाहिर नजान आग्रहग गरेका हुन्।
कांग्रेस सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भएको छुट्टाछुट्टै भेटमा राष्ट्रपति भण्डारीले नयाँ सरकार गठन प्रक्रियाका विषयमा परामर्श लिएकी थिइन्।
कांग्रेस सभापति शेरबहादुर देउवासँग भएको भेटमा राष्ट्रपति भण्डारीले संसदको निर्णयअनुसार नै अघि बढ्ने बताएकी थिइन्। भेटमा देउवाले राष्ट्रपति भण्डारीलाई नयाँ सरकार गठनबारे विवादमा पर्ने काम नगर्न आग्रह गरेको उनका स्वकिय सचिव भानु देउवाले जानकारी दिए। सभापति देउवाले राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि सहजताको भूमिका खेल्न आग्रह पनि गरेको उनले बताए।
‘संसदको निर्णय अनुसार नै अघि बढ्नुहोला। यस्तो बेला विवादमा आउने काम गर्नु हुन्न भन्ने लागेको छ,’राष्ट्रपति भण्डारीलाई देउवाले भनेको भनाई उद्धृत गर्दै स्रोतले भन्यो। जवाफमा राष्ट्रपति भण्डारीले आफू संविधानअनुसार नै अघि बढ्ने र संसदको निर्णय आफूलाई स्वीकार्य हुने विश्वास देउवालाई दिलाएकी थिइन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पारित भएपछि ओली स्वतः पदमुक्त हुनेछन्। संसद सचिवालयले प्रधानमन्त्री ओली पदमुक्त भएको जानकारी राष्ट्रपतिलाई गराएपछि नयाँ सरकार गठनका लागि आह्वान गर्ने प्रावधान छ।

Comments