काठमाडौं । सरकारी वार्ता टोली र आन्दोलनरत डा. गोविन्द केसीबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

मन्त्रीपरिषको बुधवार साँझ बसेको वैठकको निर्णय अनुरसार गठन भएको सचिवस्तरीय वार्ता टोलीले विहीवार नै अनसनरत डा. केसीका मागका बारेमा वार्ता र संवाद प्रारम्भ गरेको हो । स्वास्थ्य मन्त्रालयमा भएको वार्तामा डा. केसीले उठाएका चार बुँदे माग कसरी पूरा गर्न सकिन्छ भन्ने बारेमा बुँदागत रुपमा छलफल भएको छ । वार्तामा नेपाल सरकारको क्षेत्राधिकारमा नपर्ने विषयलाई सम्बन्धीत निकायमा लैजाने विषयमा सहमति भएको सरकारका वार्ता टोलीका संयोजन स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेतीले बताउँनुभयो ।

सरकारी टोलीले प्रधानमन्त्रीलाई र डा. केसीका प्रतिनिधिले डा. केसीसँग छलफल गरी त्यही आधारमा अर्को वार्ता गरि पूर्णता दिन दुवै पक्षबीच सहमति भएको नेपाल चिकित्सक संघका अध्यक्ष अन्जनीकुमार झाले बताउँनुभयो ।

वार्ता टोलीमा रहनुभएका डा. जीवन क्षेत्रीले सहमति भए डा केसीले शुक्तवार नै अनशन तोड्नसक्ने बताउँनुभयो ।

१२ दिनदेखि आफ्ना माग पूरा गर्न दवाव दिँदै डा केसी त्रि वि शिक्षण अस्पतालमा आमरण अनसनरत हुनुहुन्छ । वार्तामा सरकारको तर्फबाट स्वास्थ्य सचिव डा. सेनेन्द्रराज उप्रेती, शिक्षा सहसचिव डा लवदेव अवस्थी र प्रधानमन्त्री कार्यालयका सचिव केदारबहादुर अधिकारी सदस्य हुनुहुन्छ । यस्तै डा. केसीको तर्फबाट डा. रञ्जन सापकोटा, चिकित्सक संघका अध्यक्ष डा. अन्जनीकुमार झा, डा. जीवन क्षेत्री, डा. लिजन महर्जन, डा. स्नेहबन्धु रेग्मी र डा. सुमन आचार्य रहनुभएको छ ।

Comments

comments