काठमाडौं । मधेसवादी दलका नेताहरुले नयाँ सरकार गठनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएर तमासा देखाएको बताएका छन् ।

सरकार अल्पमतमा परेपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा नदिएर राजनीतिलाई भिडन्ततर्फ लान खोजेको आरोप उनीहरुको छ।

तराई मधेस लोकतान्त्रिक पार्टीका बरिष्ठ उपाध्यक्ष हृदय त्रिपाठीले प्रधानमन्त्री ओलीको राष्ट्रवाद सत्ताका लागि मात्र भएको बताउँनुभयो । अल्पमतमा परिसकेको सरकारसँग सत्ता छोड्नुको विकल्प नभएको दाबी गर्दै उहाँले तर प्रधानमन्त्रीले अनाहकमा समस्या बढाउने खेल मात्र गरिरहेको जिकिर गर्नुभयो । त्रिपाठीले सत्तासीन दलका सांसदले नै संसद अवरुद्ध पार्नु विश्वकै लागि गलत उदाहरण भएको बताउँनुभयो । विधिमा चल्ने र अनुशासनमा चल्ने लोकतान्त्रिक मुलुकको लागि यो लज्जाको विषय भएको उहाँको कथन छ ।

संघीय समाजवादी फोरमका उपमहासचिव अभिषेकप्रताप शाहले शुक्रबार बस्ने पार्टीको बैठकले सरकार गठनको प्रक्रिया र आगामी कदमका बारेमा निर्णय गर्ने बताउँनुभयो । उहाँले ओली सरकारविरुद्ध अविश्वासको प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय भएको समेत बताउँनुभयो ।

मधेसी मोर्चाका नेताहरुमा ओली सरकारको विकल्प खोज्नेमा एकमत देखिएपनि सरकारमा जाने विषयमा भने एक मत भएसकेको छैन । सरकार ढलिसकेपछि मात्र नयाँ धारणा आउने साहले बताउँनुभयो ।

मोर्चाले उठाएका ११ सुत्रीय मागहरुमा सहिद तथा घाईतेलाई राहत तथा क्षतिपूर्ति दिने,मधेस आन्दोलनमा भएको ज्यादतीको छानविन गर्नेजस्ता कार्य थालेर लिखित सहमति भएमा भने नयाँ सरकारमा जाने बारेमा सोच्न सकिने त्रिपाठीले बताउँनुभयो ।

एमालेले सदनमा पहिला अर्थिक विधेयक पारित गराएर मात्र सदन चल्न दिने अडान राख्दै आएको छ । अर्कोतिर काँग्रेस र माओवादी केन्द्रले अविस्वासको प्रस्ताव पारित गरेर मात्र आर्थिक विधेयक पारित गर्ने निर्णय गरेका छन् ।

Comments