काठमाडौं । औषधि व्यवस्था विभागले प्रतिबन्ध गरेका तथा विभागमा दर्ता नभएका कयौं औषधि बजारमा छ्याप छ्याप्ती बिक्री बितरण भइरहेको पाइएको छ । औषधि व्यवस्था विभागमा दर्ता हुन नसकेका भन्सार तिरेर नेपाल भित्रिएका यस्ता औषधिहरु बजारमा खृुलेआम बिक्रि भइरहेका छन् । तर औषधि ब्यबस्था बिभागले भने औषधि भनेर दर्ता नभएको कारण कारबाहीको दायरामा ल्याउन नसकिएको बताएको छ ।

छोराछोरी, आफन्तलाई कुलतबाट छुट्कारा दिलाउन चाहने धेरै छन् । ‘थाहै नदिई छुट्ने’ भनेर आकर्षक विज्ञापन आएपछि सर्वसाधारणले विश्वास नगर्ने कुरै भएन । साइडइफेक्ट भएका औषधीय तत्व मिसाइएका तर हर्बल भनिने त्यस्तो औषधिले ज्यानै लिनसक्ने चिकित्सकहरु बताउँछन् । अहिले बजारमा थाहै नदिई जाँड रक्सि छुटाउने,उचाई,बढाउने हार्डजोर्निको दुखाई कम गर्ने, मोटोपन घटाउने बढाउने, चायाँ पोतो हटाउने, कपाल उमार्ने,अनुहार गोरो बनाउने,स्तनको आकार घटाउने,बढाउँने र पेट तथा शरीरमा रहेका धर्सा हटाउने जस्ता आकर्षक विज्ञापन गरि अवैध औषधिहरुको खुलोआम बिक्रि वितरण हुँदै आएको छ । यसैगरी यौनोत्तजेक औषधि तथा औषधिजन्य उपकरणको प्रयोगले प्रयोगकर्ताको स्वास्थ्यमा दीर्घकालिन असर पार्ने गरेको चिकित्सकहरुको भनाइ छ । तर औषधि भनेर दर्ता नभएको कारण यस्ता औषधिलाई कानुनी दायरामा ल्याउन मुस्किल परेको औषधि व्यवस्था बिभागको भनाइ छ ।

त्यसो त औषधि व्यवस्था विभागले त्यस्ता भ्रमात्मक बिज्ञापन नगर्न पत्रचार गर्दै निर्देशन समेत दिएको थियो । यसैगरी सूचना दिँदा यस्ता सामग्री ‘औषधि होइनन्’ भन्ने सन्देशसहित विज्ञापन गर्न पनि विभागले निर्देशन दिएको छ । तर कुनै पनि निर्देशन पालन भएको छैन ।
यस्ता औषधिहरुको प्रयोगकर्ताहरु पनि यी औषधिहरु प्रभावकारी नभएको बताउछन् । पछिल्लो समय यस्ता औषधिको प्रयोगबाट स्वास्थ्य

समस्या आई स्वास्थ्य संस्था पुग्नेहरु समेत बढेका छन् । सर्वोच्च अदालतले २०७२ जेठ २७ गते नै उपभोक्ताको स्वास्थ्यमा असर र आर्थिक क्षय भएको उल्लेख गर्दै यस्ता भ्रमपूर्ण बिज्ञापन नगर्न आदेश दिइसकेको छ । तर मानव स्वास्थ्यमा प्रत्यक्ष असर पार्ने यस्ता उत्पादनहरुलार्ई अहिलेसम्म कानूनी दायरामा ल्याउन नसक्नु विडम्बनापूर्ण स्थिति हो ।

Comments