काठमाडौं । काँग्रेस र माओवादीले सरकार विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेपछि केपी ओली नेतृत्वको सरकार अल्पमतमा परेको छ । विहीवार बस्ने व्यवस्थापिका संसदको वैठकमा यस सम्बन्धी आरपार हुँदैछ ।

यसैबीच अल्पमतमा परेपछि ओली नेतृत्वको एमाले स्वतः सरकारबाट हट्नुपर्ने स्थिति बन्दै गएको छ । तर संवैधानिक अधिकार प्रयोग गर्दै संसद विघटन गरेर मध्यावती निर्वाचन घोषणा गर्न प्रधानमन्त्री ओलीलाई चौतर्फी दबाब पर्न थालेको छ । यद्यपि प्रधानमन्त्री ओलीले संसद विघटन गरेर इतिहासमा बाबुराम भट्टराई र गिरिजाप्रसाद कोइरालाको गलत मानक दोहोर्याउँने पक्षमा आफू नरहेको बताउँदै आउँनुभएको छ ।

यसक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आफुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसद बिघटन गर्न सल्लाह दिएको खुलासा गर्नु भएको छ ।

संविधानमा अविश्वासको प्रस्ताव पछि नयाँ सरकार गठन बारे प्रष्ट नभएकोले आफुले प्रधानमन्त्री आलीलाई संसद बिघटन गर्न सुझाव दिएको बताउनु भयो । भक्तपुर ट्रक व्यवसायी संघको भवन शिलान्यासको कार्यक्रममा सञ्चारकर्मीसँग अध्यक्ष बिजुक्छेले संविधान नै अन्यौलको अवस्था रहेकोले विघटन नै उचित हुने बताउनुभयो ।

अध्यक्ष विजुक्छेले मुलुकलाई असहज हुने कुनै पनि काम पार्टीले गर्न नहुने बताउँदै दलहरुबीचको सहमति बिना मुलुक बिकास नहुने धारणा पनि राख्नु भयो ।

यता नेकपा एमाले निकट युवा संघ र अनेरास्ववियुले वर्तमान सरकार ढाल्न भइरहेको खेलमा साहसिक कदम चाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

देश र जनताको हितका लागि साहसिक कदम चाल्न पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई युवाहरुले आग्रह गरेका हुन् ।

नेपाल र नेपाली जनताको हित विपरित, मुलुकको स्थीरता खलबल्याउनेलाई जनताले नै कडा कारवाहि गरिने उनीहरुको दाबी छ । अनेक किसिमका दाउपेच र षडयन्त्र गर्ने देशी विदेशी शक्तिहरुमाथि कडा निगरानी राख्दै उनीहरुलाई सडकमा नांगेझार पार्ने अभियानमा अघि बढ्ने एमाले निकट युवा तथा विद्यार्थीहरुले बताएका छन् ।

उनीहरुले सरकार ढाल्न खोज्नेहरुको भण्डाफोर गर्न युवा तथा विद्यार्थीहरुलाई आह्वान पनि गरेका छन् ।

Comments

comments