मेलबर्न । मदन पुरस्कार विजेता साहित्यकार अमर न्यौपानेलाई अष्ट्रेलियाको मेलबर्नमा स्वागत गरिएको छ ।

मंगलवार भिक्टोरियाका लागि महावाणिज्यदूतको कार्यालयमा आयोजित एक विशेष समारोहमा महावाणिज्यदूत चन्द्र योञ्जनले साहित्यकार न्यौपानेलाई स्वागत सम्मान गर्नुभएको हो । उक्त अवसरमा साहित्यकार न्यौपानेले भानु जयन्ती समारोहमा सरिक हुन पाउँदा र यहाँका नेपाली साथीभाईको साथ र स्वागतबाट आफु निकै प्रभावित बनेको बताउनुभयो ।

मेलबर्नको भ्रमणमा आउनुहुने अतिथिहरुलाई स्वागत गर्ने महावाणिज्यदुतको कार्यालयको परम्परा अनुसार स्वागत गर्दै महावाणिज्यदुत चन्द्र योञ्जनले भाषा र साहित्यको माध्यमबाट नेपाली समाजलाई न्यौपानेले दिनुभएको योगदान वास्तवमै अतुलनीय रहेको बताउनुभयो । नयाँ पुस्ताका लागि दन्त्यकथामै सीमित हुन लागेका विविध विषयवस्तुलाई उपन्यास र आख्यानको माध्यमबाट संरक्षण गर्न र धेरैभन्दा धेरै जनताको वास्तविक भावनालाई मुखरित गर्न न्यौपाने सफल हुनुभएकोमा उहाँलाई बधाई दिँदै आगामी दिनमा अझ उत्कृष्ट रचनाहरु नेपाली पाठकहरुले पढ्न पाउने आशा समेत योञ्जनले व्यक्त गर्नुभयो ।

यसैबीच, चितवन समाज भिक्टोरियाले चितवन नै स्थायी घर भएका साहित्यकार अमर न्यौपानेको सम्मानमा एक डिनर कार्यक्रमको आयोजना गरेको छ । बेलस्ट्रीट क्यान्टिनमा आयोजना गरिएको कार्यक्रममा चितवन समाजका अध्यक्ष सोम तामाङले स्वागत गर्दै चितवनकै नाम उज्ज्वल बनाउने साहित्यकार न्यौपानेलाई मेलबर्नमा स्वागत गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले भिक्टोरियामा रहेका चितवनवासीको तर्फबाट मायाको चिनो पनि साहित्यकार न्यौपानेलाई हस्तान्तरण गर्नुभयो ।

सम्मानपछि बोल्दै साहित्यकार न्यौपानेले अष्ट्रेलियामा पाएको न्यानो स्वागतका लागि धन्यवाद दिनुभयो । उहाँले अष्ट्रेलियामा टेक्ने वित्तिकै गजबको ऊर्जा प्राप्त भएको बताउँनुभयो । उक्त उर्जालाई आगामी लेखनमा कतै न कतै उजागार गर्ने पनि उहाँले बताउँनुभयो ।

साहित्य संगीत जमघटको निमन्त्रणामा मेलबर्न भ्रमणमा रहनुभएका न्यौपाने बिहीबार सिड्नी जानुहुने कार्यक्रम रहेको छ ।

Comments

comments