सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीकोे नेपाल भ्रमणपछि दुई देशवीचको सम्बन्ध नयाँ उचाईमा पुगेको दावी गर्नुभएको छ ।

राजधानीमा आज आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्नुहुँदै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई प्राथमिकतामा राखेर आन्तरिक तयारी गरेर नेपाल भ्रमणमा आएकोले यो भ्रमणबाट सम्बन्ध नयाँ शिराबाट अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो । रिजालले मोदीले भ्रमणमा सबै पक्षसँग गहन छलफल गरेर सबै गुनासोहरुलाई समाप्त पारेकोले पनि भ्रमण सफल भएको जिकिर गर्नुभयो ।

उहाँले मोदीको भ्रमणपछि नेपालको अघि अवसर नै अवसरको सिर्जना भएको भन्दै यसबाट नेपालले फाईदा लिन सक्नु पर्नेमा जोड दिनुभयो । उहाँले सन १९५० को सन्धी पुनरावनोकन गर्न भारतीय प्रधानमन्त्री तयार रहेको अवस्थामा अब नेपालले पनि आन्तरिक सहमति गरेर अघि बढ्नु पर्ने बताउनुभयो ।

यता नेकपा–माओवादीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण असफल भएको दावी गरेको छ । संचारककर्मीहरुसँगको कुराकानीमा अध्यक्ष मोहन वैद्यले भारतले उर्जासम्बन्धमा गर्न चाहेको पीटीए र पीडीए सम्झौता हुन नसकेको कारण पनि मोदीको नेपाल भ्रमण पूर्ण रुपमा असफल भएको दाबी गर्नुभयो ।

उहाँले मोदीको भाषण कला र जनतासँग भेट गर्ने लगायतका स्वभावले उहाँ ब्यक्तिगत रुपमा नेपालमा लोकप्रिय भएपनि भ्रमण पूर्ण रुपमा असफल भएको बताउनुभयो । यद्यपि मोदीले संसदलाई सम्बोधन गर्ने क्रममा दिएको अभिब्यक्ति भने सकारात्मक रहेको वैद्यको टिप्पणी छ ।

Comments