काठमाडौं । एशियाली विकास बैक–एडिवीले नेपालमा उपभोक्ता मूल्य बृद्धि दक्षिण एशियामा सवै भन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ । एडिबीले नेपालमा बढेको मूल्यबृद्धि प्रति चिन्ता गरेको छ ।

एडिबीको प्रतिवेदन अनुसार दक्षिण एशियाली मुलुकहरुमध्ये नेपालमा उपभोक्ता मूल्य बृद्धि सवैभन्दा उच्च रहेको छ । नेपालमा केही बर्ष अघिसम्म अफगानिस्थान,श्रीलंका र बंगलादेशको भन्दा कम मुद्रा स्फिती रहेको थियो । तर पछिल्लो समय नेपालको मुद्रा स्फिती दक्षिण एशियामा सवै भन्दा बढी रहेको छ । नेपालमा बढेको मुद्रा स्फितीले बिशेष गरी काम गरेर जीवनयापन गर्ने मध्यमबर्ग र बिपन्न बर्गका जनता निकै मारमा परेका छन् ।

एशियाली विकास बैकले आगामी बर्ष पनि मुद्रा स्फितीको दर ८ दशमलव २ प्रतिशतको हाराहारीमा रहने प्रक्षेपण गरेको छ । जुन दर पनि दक्षिण एशियाली मुलुकहरुमध्ये सवै भन्दा बढी हुने एडिवीले आफनो प्रतिवेदनमा उल्लेख गरेको छ । दक्षिण एशियाको क्षेत्रीय औसत मुद्रा स्फितीको दर ५ दशमलव २ प्रतिशतको हाराहारीमा रहेको एडिवीले जनाएको छ ।

नेपाल सरकारले मुद्रा स्फितीको दरलाई ८ दशमलव ५ प्रतिशतमा कायम राख्ने लक्ष्य राखेको थियो तर त्यो लक्ष्य पु्रा हुन सकेन । नेपाल राष्ट्र बैकले गत जेठ मसान्त सम्मको मुद्रा स्फितीको दर ११ दशमलव १ प्रतिशत रहेको प्रतिवेदन सार्वजनिक गरेको छ । जवकी गत बर्षको जेठ मसान्तमा मुद्रा स्फितीको दर ७ दशमलव ४ प्रतिशत मात्र रहेको थियो ।

नाकाबन्दी, मधेश आन्दोलन, आपूर्तिमा भएको असहज अवस्था कालोबजारी र सरकारको कमजोर बजार अनुगमन जस्ता कारणहरुले नेपालको मुद्रां स्फिती बढाएको जनाएको छ । यातायात ब्यवसायीको हड्ताल, सिण्डीकेट जस्ता यातायात क्षेत्रमा मौलाएको कालोबजारी जस्ता कारणहरुले पनि नेपालमा मुल्यबृद्धि बढाएको छ ।

Comments