मेलबर्न । विश्वका विभिन्न फिल्म फेस्टिभलहरुमा वाहवाही बटुलेको नेपाली फिल्म कालोपोथी अष्ट्रेलियाको मेलबर्नका दर्शकहरुले पनि अत्याधिक रुचाएका छन् ।

नेपालमा सफल प्रदर्शनपछि पाएको चर्चाले कालोपोथी नहेरे अनसोसियल भइन्छ भन्नेसम्मको वर्ग तयार भएपछि यसको विश्वव्यापी नेपाली समुदायबीच डिमाण्ड बढेको छ । त्यसैक्रममा अष्ट्रेलियाको मेलबर्नमा सोलाङचर र हैट इभेन्टस्ले कालोपोथी भित्र्याएको हो । मेलबर्नमा यसको डिमाण्ड कति बढ्यो भने केही दिन अघि नै यसको सबै टिकट सोल्ड आउट भएको थियो ।

आइतवार जब फिल्म प्रदर्शन भयो,सबै दर्शक दंग परे । विदेशमा रहेर पनि मौलिक नेपाली फिल्म हेर्न पाउँदा आयोजक र निर्देशक मिनबहादुर भामप्रति उनीहरु आभारी देखिन्थे ।

कालोपोथी चलचित्रको मौलिक कथाबाचन, अभिनय र सामान्य कथाबस्तुमा गहन बिषय बस्तुको कलात्मक प्रस्तुतिले मन छोएको धेरै दर्शकको प्रतिक्रिया थियो । निर्देशकको ईमान्दारीपूर्ण स्वीकारोक्तिले दर्शकहरु अझ नतमस्तक देखिन्थे ।

यति राम्रो फिल्म एक शोमा मात्र सीमित राख्न नहुने दर्शकहरुको संख्या अहिले मेलबर्नमा बढ्दै गएको छ । त्यसैले कालोपोथी अब आगामी मंगलवार दोस्रोपटक पुनः प्रदर्शन गरिने भएको छ । स्थानीय नोभा सिनेमा हलमा प्रदर्शन हुने कालोपोथीको दोस्रो प्रदर्शनीको टिकट पनि धमाधम विक्री शुरु गरिसकिएको छ ।

Comments

comments