काठमाडौं । संविधानविद् एवं कानून व्यवसायीहरुले नेपालको संविधानले नयाँ सरकारको विषयमा प्रष्ट नपारेको भन्दै यस विषयमा संविधान मौन रहेको बताएका छन् ।

उनीहरुले संविधानले सहमतीय सरकारमा नै जोड दिएकोले पनि प्रधानमन्त्रीको राजीनामा बारे पनि प्रष्ट उल्लेख नभएको जिकिर गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा विकसित पछिल्लो राजनीतिक घटनाक्रम बारे राय सुझावका लागि संविधानविद्हरुसंग आइतबार साँझ गर्नु भएको परामर्शमा उनीहरुले यस्को प्रतिक्रिया दिएका हुन् ।

प्रधानमन्त्री निवास वालुवाटारमा भएको छलफलमा संसदमा प्रस्तुत भएको अविश्वास प्रस्ताव र त्यसपछि नयाँ सरकार गठनका सन्दर्भमा उत्पन्न संवैधानिक जटिलता आफ्नो सुझाव दिदै विज्ञहरुले सहमति सरकारमा जोड दिएका हुन् । कानुनविद रमेश भण्डारीले सरकार अल्पमतमा परेको भएपनि काम चलाउ नभएको र प्रधानमन्त्रीलाई सहमतीय सरकार वा बहुमतको सरकार बनाउनमा जोड दिएको जानकारी दिनुभयो । उहाँले संविधानमा सरकार परिवर्तनका विषय स्पष्ट नभएकाले संविधान संशोधन गर्नुपर्ने सुझाव दिएको पनि बताउनुभयो ।

कानुनविद चन्द«कान्त ज्ञवालीले संविधानमा उल्लेख भएका विषय स्पष्ट नभएकोले र संसद विघटन जस्ता विषय पनि उल्लेख नभएकाले उचित निर्णय लिन सुझाव दिएको बताउनुभयो ।

छलफलमा उपप्रधानमन्त्रीद्वय बिजयकुमार गच्छदार, कमल थापा, एमाले संसदीय दलका उपनेता तथा पूर्वसभामुख सुवास नेम्वाङ, एमाले महासचिव ईश्वर पोखरेल लगायत सहभागी हुनुहुन्थ्यो ।

Comments

comments