काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका–संसदमा दर्ता भएको अविश्वासको प्रस्तावमाथि तीन दिन छलफल हुने प्रारम्भिक कार्यसूची तय भएको छ ।

प्रमुख विपक्षी दल नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्र लगायत दलले गत बुधबार प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । संसद् सचिवालयले उक्त प्रस्तावमाथि यही साउन ६ देखि ८ गतेसम्म छलफल हुने सूचना पत्रमार्फत सदस्यलाई जानकारी गराइसकेको छ । संसद्को नियमावली, २०७३ को नियम १६० अनुसार संसद्को आगामी बैठकमा अविश्वासको प्रस्तावक सदस्यमध्ये पहिलो हस्ताक्षरकर्ता वा निजले अधिकृत गरेको सदस्यले वक्तव्यसहित प्रस्ताव पेस गर्ने प्रावधान छ ।

सभामुखले प्रस्तावमाथि छलफल गर्न समयावधि निर्धारण गर्ने र छलफल सकिएपछि प्रधानमन्त्रीले प्रस्ताव र छलफलमा उठेका प्रश्नको जवाफ दिने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्रीको जवाफपछि अविश्वास प्रस्ताव फिर्ता नभएका खण्डमा सभामुखले उक्त प्रस्तावलाई निर्णयार्थ बैठकमा प्रस्तुत गर्नुहुने कानुनी प्रावधान रहेको छ । प्रस्तावमाथि संसद्को निर्णय मत विभाजनद्वारा हुनेछ । संसदमा तत्काल कायम सदस्य संख्याको बहुमतबाट सो प्रस्ताव पारित भएमा प्रधानमन्त्री आफ्नो पदबाट स्वतः पदमुक्त हुनुहुनेछ ।

प्रधानमन्त्रीविरुद्धको अविश्वासको प्रस्ताव पारित भएपछि त्यसको जानकारी सभामुखले राष्ट्रपतिलाई गराउनुहुने प्रावधान रहेको छ ।

Comments

comments