काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काँग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको दबाबमा आदित्य दाहालको प्रतिष्ठानलाई एक करोड दिने निर्णय भएको बताउँनुभएको छ ।

नेपाल टेलिभिजनबाट प्रसारण हुने ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रममा उहाँले शेरबहादुर देउवा र पुष्पकमल दाहालको आग्रहमा मन्त्रिपरिषदले एक करोड रुपैयाँ दिने निर्णय गरेको दाबी गर्नुभएको हो ।

आदित्य दाहाल अदभुद प्रतिभाको बालक भएकाले उनलाई सुरक्षा लगायतका हिसाबबाट पनि गाडी चाहियो भनिएकाले त्यसको लागि प्रतिष्ठानलाई सहयोग दिएको उहाँले बताउनुभयो । पहिलेको सरकारले उपचार सहयोगको लागि दिएको एककरोड रुपैयाँमध्ये केही मात्र खर्च गरेर अरु फिर्ता गरेको र त्यसमा केही रकम थप मात्रै गरिएको प्रधानमन्त्रीको भनाई छ ।

विद्यालय नगएका र अक्षरसमेत नचिनेका आदित्य एकाएक गम्भीर विषयलाई लिखित रूपमा अभिव्यक्ति गर्न थालेपछि चर्चामा छन् । कांग्रेस, एमाले, माओवादी लगायतका शीर्ष नेताहरु समेत उनीबाट प्रभावित छन् । केही दिनअघि बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओली, प्रचण्ड, देउवा लगायतका नेताहरुले आदित्यसँग भेट गरेका थिए । त्यो भेटमा भएको तस्बीर पनि सार्वजनिक भएको छ ।

गएको शुक्रबार मन्त्रिपरिषद बैठकले आदित्य दाहालको संरक्षणमा खुलेको प्रतिष्ठानलाई एक करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । शुक्रबार प्रतिष्ठानको सवारी साधन, आवास निर्माण र साधनाका लागि भौतिक पूर्वाधार तयार गर्न उक्त रकम दिने निर्णय गरेको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिनुभएको थियो ।

सरकारको यो निर्णयको चौतर्फी बिरोध भएको छ ।

Comments

comments