काठमाडौँ । पुरानो बसपार्कमा निर्माण गर्ने भनिएको काठमाडौँ स्तम्भ निर्माणको काम यसै सातादेखि सुरु हुने भएको छ ।

झन्डै तीन महिनाअघि नै निर्माणको काम सुरु गर्ने भनी पुरानो बसपार्कबाट आवतजावत गर्ने यातायातका साधनलाई खुला मञ्चमा सारे पनि निर्माण सामग्री अभावले गर्दा काम सुरु हुन सकेको थिएन । स्तम्भ निर्माणको जिम्मा पाएको जलेश्वर, स्वछन्द र विकोईका प्रमुख मनोज भेटुवालका अनुसार हाल भारतबाट सामान ल्याउने काम भइरहेको छ । एक दुई दिनमा सामान आइपुग्छ र निर्माणको काम सुरु गरिन्छ । “टावर निर्माणको सम्पूर्ण सामग्री भारतबाट ल्याउनुपर्ने भएकाले निर्माण सुरु गर्न ढिला भएको हो” भेटुवालले भन्नुभयो । उहाँका अनुसार सिमेन्ट, ढुङ्गा, गिट्टी बालुवालगायतको सामग्रीबाहेक अन्य सबै निर्माणका सामान भारतबाट ल्याउनुपर्छ ।

लामो समयसम्म पनि काम सुरु नगरेको भन्दै केही समय अघि काठमाडौँ महानगरपालिकाले काम सुरु गर्न निर्देशन लिएको थियो । हालसम्मा काम सुरु गर्नुपर्ने भए पनि केही काम नभएको भन्दै अब केही दिनमा पनि काम सुरु नगरे हाल निर्माणको लागि जिम्मा पाएको कम्पनीलाई रोक लगाउने कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले बताउनुभयो । भवन पूर्णरूपमा भूकम्प प्रतिरोधात्मक र १२ तलाको बनाउने तयारी छ । नेपालमा हालसम्म बनेका भवनभन्दा पृथक र अत्याधुनिकसँगै नेपाली कला, संस्कृति झल्किने खालको हुने बताइएको छ । स्तम्भ निर्माणको लागत रु तीन अर्ब ५० करोड पुग्ने अनुमान गरिएको छ ।

यस्तो हुनेछ टावर :

भवनको सबैभन्दा तल्लो तलामा बस पार्किङ स्थल रहने छ भने त्यस्तै त्यसको माथि दोस्रो तलामा हलुका गाडीको पार्किङ, व्यवस्थित चलचित्र कक्ष, पौडी पोखरी, खाजाघर, बैंक तथा कामपाको वडा कार्यालय समेत रहनेछ । भवनका लागि २३ रोपनी पाँच आना जग्गा छुट्याइएको छ । कामपासँग गरिएको सम्झौतानुसार ती कम्पनीले आफ्नो लगानीमा भवन बनाएर ३० वर्षसम्म चलाउने छन् । काम सुरु भएको पाँच वषभित्र स्तम्भ बनाइसक्नुपर्ने छ ।

Comments

comments