काठमाडौं । शुक्रबार हरिशयनी एकादशी तिथि, हिन्दूहरुले आआफ्नो घरमा तुलसीको बिरुवा रोपी पूजा गर्दैछन् । पशुपति क्षेत्र विकास कोषले तुलसीको बिरुवा निःशुल्क उपलब्ध गराउँदैछ ।

शुक्रबारदेखि चतुर्मास व्रत पनि सुरु हुँदैछ । शुक्रबारको दिन ब्रत बस्ने तथा आरोग्यदायक, महाऔषधीय गुण भएको तुलसी घरआँगनमा रोपेर भगवान विष्णुको प्रतिकका रुपमा पूजा गर्ने चलन छ । पौराणिक कथन अनुसार मुर नामको दैत्यको आतंकबाट देवताहरुलाई मुक्ति दिलाउन भगवान विष्णुले ठूलो संघर्ष गर्नुपरेको र युद्धको थकानबाट विश्राम लिन बद्रीआश्रममा रहेको हेमवती गुफामा गई शयन गरेको भन्ने मान्यताका साथ यस दिनलाई हरिशयनी एकादशी भनिएको हो ।

हरिशयनी एकादशीसँगै शुक्रबारदेखि चतुर्मास ब्रत पनि शुरु भएको छ । भगवान विष्णु आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन शयन गरी कात्तिक शुक्ल एकादशीको दिन ब्यूँझने मान्यताका साथ चतुर्मास भरी विष्णुको पूजा गर्ने, ब्रत बस्ने चलन छ ।

Comments