काठमाडौं । फिफा बरियातामा नेपाल ६ स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले हरेक महिना सार्वजनिक गर्ने गर्ने पछिल्लो फिफा बरियतामा नेपाल १८८ औं स्थानमा पुगेको छ ।

फिफाले बिहीबार सार्वजनिक गरेको बरियाताक्रममा यसअघि १८३ औं स्थानमा रहेको नेपाल ६ स्थान खस्कँदै १८८ औं स्थानमा पुगेको हो । उता विश्वकप छनौटको दोस्रो चरणमा यसै महिना लाओसलाई पराजित गरेको भारतले भने एकैपटक ११ स्थान सुधार गरेको छ । भारत १५२ औं स्थानमा उक्लिएको दक्षिण एशियामा सबैभन्दा अगाडि आएको छ । भारतपछि दक्षिणएशियामा माल्दिभ्स १७४औं स्थानमा यथावत छ भने २ स्थान खस्किएको बंगलादेश १८३ औं स्थानमा छ । बरियातामा नेपालपछि भुटान, श्रीलंका र पाकिस्तान छन् । उनीहरुको क्रमशः १९२, १९३ र १९४ औं स्थानमा छन् ।

युरो २०१६ फुटबल प्रतियोगिता सकिएपछि पहिलो पटक सार्वजनिक गरिएको बरियाताक्रमको शीर्ष स्थानमा अर्जेन्टिना यथावत रहेको छ । यस्तै बेल्जियम, कोलम्बिया, जर्मनी र चिली क्रमसः दोस्रोदेखि पाचौं स्थानमा छन् ।

युरो च्याम्पियन पोर्चुगल २ स्थान सुधार गर्दै छैटौं स्थानमा छ भने युरो फाइनलिष्ट फ्रान्सले १० स्थान सुधार गरेर सातौं स्थानमा उक्लिएको छ । यस्तै स्पेन र ब्राजिल २–२ स्थान तल झरेर आठौं र नवौं स्थानमा छन् भने दुई स्थान सुधार गरेको इटली १० औं स्थानमा उक्लिएको छ ।

Comments

comments