मेलबर्न । नेपाली दर्शक र समीक्षकहरुले मात्र होइन विभिन्न फेष्टिबलका दौरान विश्वका दर्शकहरुले समेत अत्याधिक रुचाइएको मौलिक नेपाली फिल्म कालो पोथी अष्ट्रेलियाका विभिन्न शहरमा समेत प्रदर्शन हुने भएको छ ।

कालोपोथीको अष्ट्रेलिया प्रदर्शन अन्तर्गत यही आइतवार अर्थात जुलाई १७ मा मेलबर्नमा विशेष प्रदर्शन हुँदैछ । हैट क्रियसन्स र सोलाङचरको आयोजनामा हुने कालोपोथीको मेलबर्न विशेष प्रदर्शन स्थानीय नोभा सिनेमामा बेलुकी ७ः३० बजेदेखि शुरु हुनेछ । फिल्मले पाएको सकरात्मक चर्चाले गर्दा मेलबर्नका दर्शकहरु पनि कालोपोथी हेर्न निकै आतुर देखिएका छन् । यसले गर्दा यसको सबै टिकटहरु अग्रीम रुपमै विक्री भैसकेको आयोजकले जनाएको छ ।

निर्देशक मिन भामले निर्देशन गरेको कालोपोथी हलिउडका प्रोडक्सन कम्पनीहरुले लगानी गरेको पहिलो नेपाली फिल्म हो । नेपालको विगत कर्णाली क्षेत्रमा छायांकन गरिएको यो फिल्ममा दुई किशोरहरु खड्गराज नेपाली र सुकराज रोकायाको दमदार अभिनय रहेको छ ।

यसैबीच कालोपोथीको सफलतासँगै नेपाली रजतपटमा उदाएका किशोरहरु खड्गराज नेपाली र सुकराज रोकाया पनि अष्ट्रेलिया आउँने भएका छन् । मुगुका रैथाने उनीहरुले देशकै राजधानी काठमाडौं समेत केही समय अघि मात्रै देखेका थिए । मुगुको सुगन्ध बोकेर अष्ट्रेलिया आएका उनीहरुसँगै बसेर फिल्म हेर्न पाउँनु अष्ट्रेलियाका नेपाली दर्शकहरुका लागि अझ अविस्मरणीय अवसर हुनेछ ।

Comments

comments