काठमाडौं । नेपाल आयल निगम १४ वर्षपछि आइतबार ऋण मुक्त भएको छ ।

आइतबार सरकारलाई अन्तिम किस्ताको साँवा ब्याज गरी १ अर्ब ४१ करोड रुपैयाँ तिरेपछि निगममा अब कुनै ऋणभार रहेन ।
स्वचालित मूल्यसँगै अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेपछि निगम नाफामा गई ऋण तिर्न सफल भएको हो । ‘करिब १४ वर्षदेखिको ऋण आइतबारबाट मुक्त भयौं,’ निगम अर्थ विभागका निर्देशक सीताराम पोखरेलले भने,‘ऋण तिर्न सफल हुनुमा अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्यमा आएको गिरावट र स्वचालित मूल्य कार्यान्वयन गर्नु नै हो ।’

अर्थ मन्त्रालयले पनि असारभित्रै ऋण चुक्ता गर्न पत्राचार गरेपछि निगमले पनि सोही अनुसार तिरेको हो। अहिले पनि निगमको मासिक नाफा ७० करोड रुपैयाँ छ ।

राजनीतिक हस्तक्षेपमा परेको निगमले अन्तर्रा्ष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्न नसकेपछि २०५९÷६० देखि घाटामा गएर ऋण लिई इन्धन आपूर्ति गरेको थियो ।

Comments