–प्रियालक्ष्मी कार्की ।

काठमाडौं । हरेक नायकहरुको कुनै न कुनै सपना पूरा हुँदैनन । यस्तै वास्तविकताको अगाडि उभिएका छन् क्रिष्टियानो रोनाल्डो अहिले । युरो कपको उपाधि दिलाए उनले पोर्चुगलको सर्वकालीन महान खेलाडीको रुपमा पाएको उपमामा अझ बढी सुगन्ध थप्ने निश्चित छ । तर अगाडि फ्रान्स छ , उसंग उस्को गृहमैदानको गौरवमय इतिहास र सुसज्जित टोली छ । जुन रोनाल्डोका लागि कष्टको पहाड बन्न सक्छ । कुरो उही युरो कप फाइनलको ।

पोर्चुगलको यसपटकको आरम्भ सुखद रहेन जस्को दोष रोनाल्डोले पनि भोग्नु प¥यो । तर अद्धितीय कलाले भरिएका यी महानायक चम्कदा खेलले कस्तो रुप लिन्छ त्यो सबै फुटबलप्रेमीलाई प्रष्ट थाहा छ । रोनाल्डोको रफ्तारसंगै पोर्चुगलले यसपटक पेरिसमा हुने फाइनल यात्रा तय गरेको हो । निश्चय नै पेरिसमा उनी एक्ला हुने छैनन, उस्कै भनाई सापट लिने हो भने पोर्चुगल रोनाल्डोको भरमा मात्र टिकेको छैन । तर होइन सारा विश्वलाई र अझ बढी फ्रान्सलाई थाहा छ , त्यही रोनाल्डोलाई रोक्न सके सबै काफी छ ।

हुन पनि पेरिस शहरस्थित स्टाडे डि फ्रान्स स्टेडियममा फेरी अर्को इतिहासको साक्षी बस्दैछ । यही रंगशालामा फ्रान्सले धेरै धुरन्धरहरुलाई रुवाएको छ । यसपटक धेरै अर्थमा र खेलकै हिसाबमा हेर्ने हो भने पनि फ्रान्सको पल्ला भारी छ भन्नेहरुकै वहुमत छ । तर गोलको आँखा हुँदैन भन्ने सत्यतालाई पनि धेरैले बुझेका छन् । ग्यारेथ बेल र वेल्सको वेलगाम रफ्तार सहजै रोक्दा पोर्चुगलले रोनाल्डो र नानीलाई नायककोरुपमा पायो ।

यता एन्टोइन ग्रिजम्यान चम्कदा फ्रान्सले विश्व च्याम्पियन एवं चीर परिचित प्रतिद्धन्द्धी जर्मनीलाई घर फर्काउन कुनै आतिथ्यता देखाएन । फ्रान्सले १९९८ को विश्वकपमा घरेलु मैदानमा ब्राजिललाई लज्जास्पद हार चखाएर उपाधि उचालेको थियो भने युरो कपको उपाधि तेश्रो पटक उठाउने अभियानमा छ । युरोकपमा हरेक पटक फाइनलमा पुग्दा जीत सुनिश्चित गरेको फ्रान्सले घरेलु मैदानलाई भाग्यको भूमिको रुपमा लिएको छन् । तर पोर्चुगल जो जहिले पनि उपाधिका लागि आतुर र भोको छ , उस्को भाग्य पनि त सधैका लागि खोसिदैन होला नी ।

जे होस दुई महारथीको महायुद्दले आइतबार संसारलाई लोभ्याउन भने पक्का छ ।

Comments

comments