मेलबर्न । बेलायत निवासी सानु गुरुङका दम्पत्ति यतिखेर बेलायत र विश्वका विभिन्न समाचार एजेन्सीहरुका लागि समाचारका सन्दर्भ बनेका छन् ।

गत मंगलवार बेलायतकी महारानी एलिजावेथसँग औपचारिक कुराकानीका लागि अवसर पाएपछि सानु र उनकी पत्नी अन्ना सबैको चासोको विषय बनेका हुन् । महारानी र गुरुङ दम्पत्तिबीचको कुराकानीको समय एक महिना अघि नै तय भएको थियो । सोही बमोजिम महारानी एलिजावेथले गत मंगलवार एडिनबर्घस्थित होलीरुडहाउस दरबारमा आयोजित रोयल गार्डेन पार्टीमा गुरुङ दम्पत्तिसँग कुराकानी गरेकी छिन् । उक्त पार्टीमा सहभागी हुन गुरुङ दम्पत्तिलाई राजदरबारबाट विशेष निम्ता पठाइएको थियो ।

Sanu-Gurung-and-Anna-Gurung-e1467980448674गत वर्ष नेपाल गएको महाविनाशकारी भूकम्प पीडितहरुको राहत र सहयोगका लागि गुरुङ दम्पत्तिले ब्रिङ ब्याक दी स्माइल टु नेपाल नामक च्यारिटी कार्यक्रम सञ्चालन गर्दै आएका छन् । उक्त च्यारिटी परियोजनालाई बेलायतको राजदरवार र गोर्खाकी छोरी भनेर परिचित हलिउड अभिनेत्री जोआना लुम्लेको समेत समर्थन रहँदै आएको छ ।

महारानीसँगको कुराकानीको क्षणलाई सम्झदै अन्ना गुरुङले भनेका छन्–त्यत्रो ८ हजार जनाको बीचमा म र मेरा श्रीमान्सँग मात्र महारानीले कुराकानी गर्नुभयो । त्यो क्षण म असाध्यै नर्भस् भएकी थिएँ ।

तर महारानीसँग कुराकानी हुँदै गएपछि सहज महसूस भएको पनि गुरुङले उल्लेख गरेकी छिन् । महारानीले कुराकानीका क्रममा नेपालको पछिल्लो स्थिति र भूकम्प प्रभावितहरुको बारेमा विशेष चासो राखेकी थिइन् ।

बेलायती उच्च व्यक्तित्वले नेपालका बारेमा यति लामो कुराकानी गरेको यो नै पहिलोपटक भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

Comments