मेलबर्न । मदन पुरस्कार विजेता लेखक अमर न्यौपाने अष्ट्रेलियाका नेपाली पाठक र श्रोताहरुमा उपस्थित हुने भएका छन् ।

आदिकवि भानुक्त आचार्यको २०२ औं जन्मजयन्तीको अवसरमा अष्ट्रेलियाका विभिन्न राज्यहरुमा हुने कार्यक्रममा सहभागी हुन लेखक न्यौपाने अष्ट्रेलिया आउँन लागेका हुन् ।

यसैक्रममा लेखक न्यौपानेको उपस्थितिमा क्विन्सल्यान्डमा काव्य साँझ नामक बिशेष साहित्यिक जमघटको आयोजना गरिदैछ । रेडियो ४ इबि एफएम ९८.१ बाट नियमित प्रसारण हुँदै आएको नेपाली रेडियो कार्यक्रमले प्रसारणको १० बर्ष पूरा गरेको अवसरमा गैरआवासीय नेपाली संघ क्विन्सल्यान्ड र नेपाली कार्यक्रम समूह, रेडियो ४ इबि एफएम ९८.१ ले संयुक्त रुपमा यो कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा विभिन्न साहित्य स्रष्टाहरुले आ आफ्नो सिर्जना वाचन गर्नेछन् भने सांगीतिक प्रस्तुतिहरु पनि रहनेछन् । सोही कार्यक्रममा प्रमुख अतिथी अमर न्यौपानेसँगको पाठक श्रोताको अन्तर्कृयासँगै उनका कविताहरुको प्रस्तुति रहनेछ ।

क्वीन्सल्याण्डमा आयोजना हुने यो विशेष साहित्यिक कार्यक्रमले स्थानीय प्रतिभाहरुलाई आफ्नो सिर्जना प्रस्फुटन गर्ने अवसर दिने आयोजकको विश्वास छ । कार्यक्रम यही शनिबार ९ जुलाई दिउँसो ३ः३० बजेदेखि शुरु हुनेछ ।

यसैगरी साहित्यकार न्यौपाने अष्ट्रेलियाको ब्रिसबेनसहित सिड्नी र मेलबर्नमा आयोजना गरिने कार्यक्रममा पनि सहभागी हुनेछन् ।

समकालीन नेपाली साहित्यका निकै लोकप्रिय युवा आख्यानकार, मदन पुरस्कारबाट सम्मानित व्यक्तित्व न्यौपानेका सेतो धरती, करोडौँ कस्तुरी, पानीको घामजस्ता कृतिहरु चर्चामा छन् ।

kabya

Comments

comments