काठमाडौं । नेपाल र भारतबीचको सम्बन्धमा देखिएको असहज अवस्थाको निराकरणका लागि दुबै देशका विज्ञहरु सकारात्मक देखिएका छन ।

नेपाल र भारतकावीच भएको सन् १९५० को सन्धीलगायतका सम्झौताहरु पुनरावलोकन गर्न दुवै देशका प्रबुद्ध समूहका सदस्यहरु सहमत भएका छन । दुई दिनसम्म चलेको नेपाल र भारत दुवै देशका विज्ञहरु सम्मिलित वैठकले पत्रकार सम्मेलन गर्दै दुवै देशको हीत हुने गरी विगतमा भएका सन्धी सम्झौता पुनरावलोकन गर्न तयार भएको जानकारी गराएको छ । दुवै देशका विज्ञहरुको छलफलमा सुरक्षा, पानी, ट्रान्जिट, ट्रेड लगायतका विषयमा व्यापक छलफल भएको नेपाली विज्ञ टोलीका संयोजक डा. भेषबहादुर थापाले जानकारी दिनुभयो ।

त्यस्तै भारतीय विज्ञ समूहका सदस्य डा. महेन्द्र पी लामाले नेपाल र भारतवीचको सम्वन्धलाई नयाँ उचाई दिने गरी वैठकमा छलफल भएको जानकारी दिनुभयो । नेपाल भारतको असल मित्र रहेको र यो सम्वन्धलाई नयाँ उचाईमा पु¥याउन प्रबुद्ध समूहको वैठक सफल हुने डा. लामाको विश्वास छ ।

प्रबुद्ध समूहमा नेपालका तर्फबाट डा. थापाको संयोजकत्वमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्व कानून मन्त्री नीलाम्बर आचार्य र सांसद डा राजन भट्टराई रहनुभएको छ । त्यस्तै भारतका तर्फबाट पूर्व मुख्यमन्त्री भगतसिंह कोसियारीको संयोजकत्वमा जयन्त प्रसाद, महेन्द्र पी लामा र बिएस उप्रेती सदस्य रहनुभएको छ ।

अबको तीन महिनाभित्रमा भारतको नयाँदिल्लीमा पुनः दुवै देशका प्रवुद्ध समूहको वैठक हुने छ । विगतमा भारत र नेपालका बीचमा भएका विभिन्न सन्धी सम्झौता पुनरावलोकन लगायतका विषयमा विज्ञ समूहले दुवै देशका सरकारलाई सुझाव दिने छ ।

Comments

comments