काठमाडौं । सरकारले पुननिर्माणमा गरिरहेको ढिलाइका कारण भुकम्प पीडित नागरिकहरुले हुनसम्मको सास्ती खेप्नुपरेको छ । भूकम्पबाट प्रभावित एउटा जिल्ला सिन्धुपाल्चोकका अत्तरपुरबासी यो बर्खे झरीमा पनि रुझ्दै पालमुनि रात काट्न बाध्य छन् । बिनाशकारी भूकम्प गएको १ बर्ष २ महिना पूरा भयो । पूष माघको जाडो जसोतसो पालमुनि कठ्याङ्ग्रिदै काटेका भूकप्प पीडितहरुले अझै कति पालमूनिकै बासमा बस्नुपर्ने हो,यसको उत्तर पुनः निर्माण प्राधिकरणसँग पनि छैन ।

पौष माघको जाडोमा अत्तरपुरमा पालमूनि बसेका केहीले चिसोका कारण ज्यान गुमाए । चैत वैशाखको हुरी बतासमा मुस्किलले पाल जोगाएर बसे । वैशाख जेठको चर्किएको घाममा पनि भूकम्प पीडितहरुले त्यही टालेको पालले काम चलाए । तर अहिले फेरि वर्षा शुरु भएपछि भने उनीहरुको बढी कन्ताविजोग भएको छ । वास निर्माणका लागि सरकारको आश गरेर बसेका सिन्धुपाल्चोकको अत्तरपुरबासीलाई कहिलेसम्म सरकारी अनुदान पाउँला भन्ने थाहा छैन । त्यसैले उनीहरुले अत्तरपुर पुगेका पुनः निर्माण प्राधिकरणका प्रमुख सुशील ज्ञवालीले यही प्रश्न गरे । तर प्रमुख ज्ञवालीले पनि उत्तर दिन सकेनन् । बरु गाउलेहरुलाई उल्टै तपाईहरु ठाउँ खोज्नुस सामुदायिक आवासको ब्यबस्था सरकारले गर्दिन्छ भन्ने उत्तर दिएर थप निराश बनाए ।

भूकम्पबाट प्रभावित १४ जिल्लामध्ये सबैभन्दा धेरै प्रभावित सिधुपाल्चोक जिल्लाका अधिकांश भूकम्प पीडितको साझा समस्या हो यो । राहत र आवासका लागि सरकारको निर्णय कुरेर बसेका उनीहरुको वर्षा याम शुरु भएसँगै फेरि विचल्ली हुन थालेको छ ।

भूकम्पले हल्लाएर छाडेका घरहरु पनि आकाशको पानी,चट्याङ र हावाहुरीले भत्काइदिएका छन् । यता सरकारले योजना बनाएको वर्षदिन पुग्दा पनि कार्यान्वयन हुन नसक्दा पीडितहरु भाग्यलाई दोष दिदै बस्नुको विकल्प छैन ।

सिन्धुपाल्चोकमा मात्र करिब ७ हजार घरहरुमा भूकम्पले क्षति पु¥याएको पूर्वानुमान गरिएको छ । जसमा ८० प्रतिशत घरहरु पूर्णरुपमा क्षति भएका छन् । पुननिर्माण कसरी,कहाँबाट र कहिलेदेखि शुरु गर्ने भन्ने निर्णय सरकारले अझै गर्न सकेको छैन । तर उता पीडितहरु भने तत्काल राहतको आशा गरिबसेका छन् ।

Comments